काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका माओवादी उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा आजै छुट्न सक्ने सम्भावना देखिएको छ ।
सीआईबीले कमजोर स्वास्थ्यको कारण देखाउँदै महरालाई छोड्न सक्ने स्रोतले दाबी गर्यो ।
महरा गत ५ चैतमा कपिलवस्तुबाट पक्राउ परेका थिए । उनलाई सोही दिन काठमाडौं जिल्ला अदालत लगेर ४ दिन म्याद थप गरिएको थियो । अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि उनलाई नर्भिक अस्पतालमा राखिएको छ ।
अदालतले दिएको म्याद आज सकिँदैछ ।
आज शुक्रबार उनलाई म्याद थप्ने या हाजिरी जमानी छाड्ने भन्नेबारे टुङ्गो लगाइने सीआईबीको भनाइ छ ।
सीआईबीमा उनलाई हाजिरी जमानीमा छोड्नेबारे छलफल भएको स्रोतले बतायो ।
गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग उनको नाम जोडिएको छ ।
त्यसबेला सिआइबीले उहाँसँग बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षमा थुनामा छन् ।