शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

केजरीवालको गिरफ्तारी मोदीको राजनीतिक षड्यन्त्रको आरोप

शुक्रबार, चैत्र ९ २०८०

नयाँदिल्ली । नयाँदिल्लीका मुख्यमन्त्री तथा आप पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई अन्तःशुल्क नीति मामिलामा प्रवर्तन निर्देशनालय (इडी) ले गिरफ्तार गरेको छ ।

आप नेता तथा दिल्लीका मन्त्री आतिशीले केजरीवालको गिरफ्तारी खारेज गर्न सर्वोच्च अदालत गएको र तत्काल सुनुवाईको माग गरेको बताएकी छन्। “इडीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी खारेज गर्नका लागि हामी सर्वोच्च अदालत गएका छौँ, हामीले हिजो राति सर्वोच्च अदालतसँग तत्काल सुनुवाईको माग गरेका छौँ”, उनले सामाजिक सञ्जाल एक्समा भनेकी छन् ।

यसअघि उनले केजरीवालले कारागारबाटै सरकार सञ्चालन गर्ने बताएका थिए। “इडीले अरविन्द केजरीवाललाई गिरफ्तार गरेको हामीले खबर पाएका छौँ, हामीलाई आशा छ उहाँले कारागारबाट सरकार चलाउनुहुनेछ, उहाँ दिल्लीको मुख्यमन्त्री रहिरहनुहुनेछ”, उनले भनेका थिए ।

दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन् । उनले भनिन्, प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन् ।’

मदिरा नीति मुद्दा सम्बन्धमा सोधपुछका लागि इडीको टोली बिहीबार केजरीवालको निवासमा पुगेको थियो । स्रोतहरूका अनुसार टोलीले उनको निवासमा खोजी अभियान गरेको थियो । दिल्ली उच्च अदालतले अन्तःशुल्क नीति मुद्दा सम्बन्धमा जबर्जस्ती कारबाहीबाट केजरीवाललाई अन्तरिम सुरक्षा दिन अस्वीकार गरेपछि इडीको टोली सोधपुछका लागि उनको निवास पुगेको हो । आपका कार्यकर्ताहरूले मुख्यमन्त्री केजरीवालको निवासबाहिर विरोध प्रदर्शन गरेका थिए ।

केजरीवाल भारतका चर्चित राजनीतिज्ञ हुनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कटु आलोचक हुन् ।

तेस्रो पटक प्रधानमन्त्रीको कुर्सी ताकिरहेका मोदीले केजरीवाललाई पक्राउ गरेर आफ्ना विरोधीहरुलाई कडा सन्देश दिन खोजेको विश्लेषण गरिएको छ ।

भ्रष्टाचारविरोधी अभियान चलाएर नै नै राजनीतिमा उदाएको हो केजरीवालको आम आदमी पार्टी । सन् २०१५ को चुनावमा आपले दिल्लीमा बहुमत ल्याउँदै सरकार बनाएको थियो ।