बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

बाँसबारी जग्गा प्रकरण

बयानपछि विनोद चौधरीले भने : उद्यमीमाथि राजनीतिकरण गर्न खोजियाे

बिहिबार, चैत्र ८ २०८०

काठमाडौं । बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिइएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज बिहान चौधरीको बयान लिएको हो ।

बयानका लागि सीआइबीले चौधरीलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको थियो । चौधरी आफैँ जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित भएका थिए ।

कार्यालय प्रमुख सह न्यायाधिवक्ता सन्देश श्रेष्ठको कार्यकक्षमा चौधरीको बयान लिइएको थियो ।

आज बिहान बयान दिएर निस्किएका चौधरीले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिएका छन् ।

बयान दिएर निस्किएका उनले सरकारले पत्रकारहरुमाझ एउटा उद्यम र उद्यमीमाथि राजनीतिकरण गर्न खोजिएको गुनासो गरे । एउटा जिम्मेवार राजनीतिकर्मी भएको हिसाबले आफू बयानका लागि उपस्थित भएको उनले बताए ।  ‘उद्यमलाई राजनीतिकरण गर्ने, उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गर्ने कुरा प्रष्टसँग देखियो ।’ उनले भने ।

सांसद चौधरीले आफूलाई सरकारी वकीलको कार्यालयबाट मौखिक रुपमा उपस्थित हुन भनेपछि आफू उपस्थिति भएको बताए । चौधरीले आफू जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले अनुसन्धानको लागि सहयोग गर्न उपस्थित भएको जनाए ।

४२ वर्षअघिको बाँसबारीको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ पब्लिक-प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नविनतम सोचलाई राजनीतिकरण गर्नु दुःखद रहेको उनको भनाइ थियो ।

१० रोपनी जग्गाको बारेमा कुनैपनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानसिकताको उपज रहेको जिकिर उनको जिकिर थियो ।

बाँसबारी जग्गा प्रकरणमा सीआईबीले चौधरीमाथि अनुसन्धान गरिरहेको छ । सोही क्रममा सीआइबीले हिजो मात्रै सभामुख देवराज घिमिरेलाई चौधरीमाथि भइरहेको अनुसन्धानका विषयमा पत्र मार्फत जानकारी गराएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सांसद चौधरी पनि संलग्न रहेको आरोपमा सीआईबीले उनी माथि अनुसन्धान गरिरहेको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेर आफ्नो कम्पनीको नाममा ल्याएको आरोपमा विनोदका भाइ अरुण चौधरीलाई सीआइबीले माघ १८ मा पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँको आदेशमा अरुण हाजिरी जमानीमा रिहा भइसकेका छन् ।