बुधबार, कार्तिक २५ २०८३

बुधबार, कार्तिक २५ २०८३

गृहमन्त्रीको राजीनामा कांग्रेसको बटम लाइन, संसद अवरुद्ध गर्ने अडान

सरकारबाट बाहिरिएको पीडामा कांग्रेस छाती पिटेर रुँदै के भन्छ, धेरै महत्त्व दिइराख्नुपर्ने छैन : ओली

बुधबार, चैत्र ७ २०८०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई चित्त नबुझेको भन्दै प्रतिनिधि सभाको आगामी बैठक चल्न नदिने चेतावनी दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा गृहमन्त्री रवि लामिछानेको बारेमा दिएको जवाफ चित्त नबुझेको भन्दै कांग्रेसले यस्तो चेतावनी दिएको हो ।

गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीसम्बन्धी लागेको आरोप देखाउँदै कांग्रेसले गृहमन्त्रीको राजीनामा मागेको छ । निष्पक्ष छानबिनका लागि कांग्रेसले संसदभित्रै छानबिन समिति गठन गर्नुपर्ने माग समेत गरेको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद दिपक गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग गरे । उनले प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको भन्दै आफैँ गृहमन्त्री हुँदा निष्पक्ष छानविन हुन नसक्ने बताए । उनले आफैँले आफैँलाई कारबाही गरेको नजिर समेत नभएको भन्दै मुद्दालाई प्रभावित पार्नेगरी गृहमन्त्री पदमा बसिराख्नु नहुने बताए ।

उनले स्वार्थको द्वन्द्ध हुनेगरी किन लामिछानेलाई गृहमन्त्री नियुक्त गरियो भनि प्रश्न समेत गरे ।

लामिछानेमाथि लागेको उक्त आरोपमाथि मंगलबार प्रधानमन्त्री ‘प्रचण्ड’ले जवाफ दिँदै अनुसन्धानबाट दोषी प्रमाणित भए कारबाही गरिने प्रतिवद्धता जनाएका थिए ।

पोखराको सुर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीको अनुसन्धान सकिसकेको अवस्थामा लामिछानेलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त गर्दा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) नहुने पनि उनको भनाइ थियो ।

गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन पर्याप्त प्रमाण र आधार नरहेको प्रधानमन्त्री दाहालको भनाइमा कांग्रेसले विमति जनाएको छ ।

प्रतिनिधिसभाको सोही बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछाने सहकारी ठगीमा प्रत्यक्ष सङ्लग्न रहेको पर्याप्त प्रमाण रहेको र सहकारी ऐनमा राखिएको गैर सदस्यले कर्जा नपाउने व्यवस्थाको उल्लङ्घन भएर गैरकानूनी रुपमा कर्जा प्रवाह भएको दाबी गरे ।

विगतमा मन्त्रीहरुमाथि प्रश्न उठ्दा नैतिकताका आधारमा राजीनामा दिएका उदाहरण सुनाउँदै लेखकले गृहमन्त्री लामिछानेले पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र अनुसन्धानमा सघाउनुपर्ने बताएका थिए ।

काँग्रेसका सांसद रामहरि खतिवडाले पनि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगामी संसदको बैठक चल्न नदिने चेतावनी दिए ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले प्रधानमन्त्री दाहालले दिएको जवाफ काँग्रेसलाई चित्त नबुझेको बताए । उनले काँग्रेसले संसदमै संसदीय छानबिन समितिको माग गरेको भन्दै समिति गठन नभए आगामी बैठक चल्न नदिने बताएका थिए ।

संसदीय छानबिन समिति सम्भव नै छैन : अध्यक्ष ओली

यता सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले परिपक्व प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले काँग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा पोखिरहेको आरोप लगाए । उनले सरकार भन्दा बाहिर हुने बित्तिकै नेपाली काँग्रेसले आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु नहुने बताए ।

उनले भने, ‘अहिले उहाँहरु सरकारबाट बाहिर हुनुहुन्छ । सरकार भन्दा बाहिर हुने बित्तिकै नेपाली काँग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन । हामी नेपाली काँग्रेसबाट एउटा परिपक्व प्रतिपक्षको भूमिका माग्दछौँ । संसदीय छानबिन समिति कसरी र केका लागि बन्ने ? सम्भव नै छैन ।’

यसअघि कैलाली शाखाले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले कांग्रेस सरकार छोड्नुपरेको पीडामा छटपटाइरहेको बताएका थिए ।

‘काँग्रेसको अहिलेको कदम, सरकारबाट बाहिरिएको पीडा हो, उसले सरकारबाट बाहिरिएको पीडामा छाती पिटेर रुँदै के भन्छ त्यसलाई धेरै महत्त्व दिइराख्नुपर्ने आवश्यकता छैन’ ओलीले भने ।

कांग्रेसले आफ्नो पक्षमा नलागेको झोँकमा गृहमन्त्री रवि लामिछानेलाई फसाउन लागेको उनको आरोप थियो । ‘रवि लामिछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरू कुनै कुरा प्रमाणित भएको छैन तर कांग्रेसले आफूतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ’ ओलीले भने।

कांग्रेसका मन्त्री सरकारमा हुँदा सरकारी गाडीमा झण्डा हल्लाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन गएको समेत उनले स्मरण गराए । त्यसैले कांग्रेससँग नैतिकताको कुरा गर्ने कुनै आधार नभएको ओलीको भनाइ थियो ।

काँग्रेस दुधले नुहाएको पार्टी होइन  : गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले ठाडो उजुरीका भरमा संसद अवरुद्ध गरी आफ्नो राजीनामा मागेको भन्दै आपत्ति जनाउएका छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काँग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी गरे। उनले काँग्रेसले पूरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताए ।

उनले ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने अडानमा कायमै रहन पनि काँग्रेसलाई चुनौति समेत दिए । उनले काँग्रेसलाई ४ वर्ष नै संसद गरिरहने र यही संयन्त्रले ४ वर्ष काम गर्न पाए अहिले संसदमा उपस्थित काँग्रेसका कतिपय सांसदहरु सांसद नै नरहने बताए ।