हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर बदली भइरहेको छ ।
कोशी तथा मधेश प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित छिटपुट देखि हल्का वर्षा भइरहेको छ । त्यस्तै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जानकारी दिएको छ ।
आज कोशी, मधेश, बागमती र गण्डकीसहित पहाडी भू-भागमा बदली रहनेछ । कोशी, मधेश र बागमती प्रदेश तथा पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुन सक्नेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुनेछ । कोशी, मधेश र बागमतीलगायत पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै बिहीबार देशभर बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।