काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको पुष्टि गर्ने कुनै प्रमाण नै फेला नपरेको बताएका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा सरकारमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले गृहमन्त्री सूर्यदर्शन सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति र कर्मचारी लगायत कुनै पदमा पनि नरहेको र जाहेरी दिनेहरुले पनि उनी दोषी हुन भनेर पुष्टि गर्ने कुनै प्रमाण पेश गर्न नसकेको बताए ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको सहकारीसम्बन्धी विषय अनुसन्धानका क्रममा रवि कतै दोषी नदेखिएको भन्दै प्रधानमन्त्रीले यसलाई राजनीतिकरण गर्न खोजिएको बताए।
प्रधानमन्त्रीले रवि लामिछाने प्रतिपक्षमै रहेका बेला सो सहकारी प्रकरणको अनुसन्धान भएको र उनको भूमिका कतै नदेखिएको भन्दै अहिले सरकारमा सहभागी भएका बेला स्वार्थको द्वन्द्व हुने भनी कांग्रेसले उठाएको प्रश्नको औचित्य नरहेको बताए ।
रास्वपा फेरि सरकारमा सहभागी हुने चर्चा हुन थालेपछि र सरकारमा सहभागी भएपछि यो विषयलाई संसदको नियमित काम कारबाही प्रभावित हुने गरी उठाएको भन्दै यसबारे प्रहरीले गत असोजमा नै अनुसन्धान गरी मुद्दा बुझाएको बेला रवि सरकारमा नरहेको बताएका थिए ।