रुपन्देही । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका लागि तत्काल कारबाही गरी अनुसन्धान अघि बढाउन गर्न निर्देशन दिएका थिए ।
महराविरुद्ध सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले ९ किलो सुन तस्करी प्रकरणमा मुद्दा चलाउनुपर्ने सिफारिस गरेको थियो । उनका छोरा राहुल महरालाई यसअघि नै प्रहरीले पक्राउ गरी सुन तस्करी प्रकरणमा मुद्दा चलाएको थियो।
भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न चिनियाँ व्यापारी समेत रहेका तस्करसँग नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको समेत कनेक्सन देखिएको छ । सुन तस्कर चिनियाँ नागरिकसँग नेता महरा र राहुलले पटकपटक सम्पर्क गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।
राहुल हाल पुर्पक्षका लागि थुनामा छन् । सुन तस्करीमा संलग्न चिनियाँ नागरिक वाङसँग नेता महरा र उनका छोरा राहुलको बारम्बार सम्पर्क रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
यसअघि सभामुख हुँदा पनि महरा संसद् सचिवालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका थिए।
जिल्ला अदालतले दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएपछि उनी १०३ दिनपछि थुनामुक्त भएका थिए।
एक समय राजनीतिको उच्च स्थान बनाएका महरा यतिबेला विवादास्पद छविका कारण आलोचित बन्दै गएका छन् । केही बर्षअघि उनको चिनियाँ उच्च अधिकारीसँग चुनावी खर्च मागेको टेलिफोन संवादले पनि राम्रै चर्चा कमाएको थियो । पार्टी भित्रैपनि उनी आलोचित बनेका छन् ।