काठमाडा-
बैंकिङ क्षेत्रको कुल कर्जा रकम झण्डै ५१ खर्ब रुपैंयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक अर्थात यही फागुनको तेस्रो साता सार्वजनिक गरेको बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा सम्वन्धी विवरण अनुसार सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स सहितका कुल ५४ वटा संस्थाहरुले उक्त अवधिमा ५० खर्ब ८६ अर्ब रुपैंयाँ कर्जा प्रवाह गरेका हुन ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा बाँणिज्य बैकहरुले मात्र कुल ४४ खर्ब ९९ अर्ब रुपैंयाँ कर्जा प्रवाह गरेका छन् भने बिकास बैंक र फाईनान्स कम्पनीहरुले पाँच खर्ब ८७ अर्ब रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । बैंकिङ क्षेत्रको कुल निक्षेप रकम भने पछिल्लो अवधिमा ६१ खर्ब ६८ अर्ब रुपैंयाँ पुगेको छ । जसमध्ये बाँणिज्य बैंकहरुको मात्र कुल निक्षेप ५४ खर्ब ५३ अर्ब रुपैंयाँ रहेको छ भने बिकास बैंक र फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम सात खर्ब १५ अर्ब रुपैंयाँ रहेको छ ।
चालु आवको पुस मसान्तसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप रकम भने छ दशमलव छ प्रतिशत अर्थात तीन खर्ब ७७ अर्ब सात करोड रुपैंयाँले बढेको राष्ट्र बैंकको भनाई छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप चार दशमलव दुई प्रतिशत अर्थात दुई खर्ब १५ अर्ब १४ करोड रुपैंयाँले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४ दशमलव नौं प्रतिशतले बढेको छ । २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः छ दशमलव आठ प्रतिशत, २६ दशमलव आठ प्रतिशत र ५९ दशमलव नौं प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः सात दशमलव आठ प्रतिशत, २५ दशमलव छ प्रतिशत र ६० दशमलव तीन प्रतिशत रहेको थियो । २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६ दशमलव छ प्रतिशत रहेको छ । २०७९ पुस मसान्तमा पनि यस्तो निक्षेपको अंश ३६ दशमलव छ प्रतिशत नै रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालु आवको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा चार प्रतिशत अर्थात एक खर्ब ९२ अर्ब ६४ करोड रुपैंयाँले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा तीन प्रतिशत अर्थात एक खर्ब ३७ अर्ब ३३ करोडले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा चार दशमलव नौं प्रतिशतले बढेको छ । २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३ दशमलव दुई प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६ दशमलव आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ दशमलव नौं प्रतिशत र ३५ दशमलव एक प्रतिशत रहेको थियो ।समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह चार प्रतिशतले, विकास बैंकहरुको चार दशमलव चार प्रतिशतले र फाईनान्स कम्पनीहरुको कर्जा प्रवाह दुई दशमलव चार प्रतिशतले बढेको छ ।
चालु आवको पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११ दशमलव चार प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७ दशमलव सात प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७९ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२ दशमलव दुई प्रतिशत र ६७ दशमलव दुई प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८०÷८१ को छ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा एक दशमलव एक प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा आठ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा चार दशमलव एक प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १० दशमलव छ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा दुई प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा चार दशमलव पाँच प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा सात प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३ दशमलव दुई प्रतिशतले, नगद प्रवाह कर्जा २७ दशमलव पाँच प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा पाँच दशमलव आठ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) चार दशमलव सात प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १० दशमलव पाँच प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४१ प्रतिशतले र हायर पर्चेज कर्जा १९ दशमलव नौं प्रतिशतले घटेको राष्ट्र बैंकको भनाई छ