काठमाडौं । आज हिन्दू धर्मावलम्बीले हर्षोल्लासका साथ महाशिवरात्रि पर्व मनाउँदैै छन् । फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रिका रूपमा मनाउने गरिन्छ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइन लागिएको हो । देवाधिदेव महादेवको पूजा, व्रत, होम आदि गरेर यो पर्व मनाइन्छ । आज काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्छ ।
यसदिन पशुपतिनाथलाई दिनमा पञ्चामृत र रातलाई प्रथम, द्वितीय, तृतीय र चतुर्थ प्रहरमा क्रमशः दूध, दही, घ्यू र महले स्नान गराउने गरिन्छ ।
परब्रहृमले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको छ ।
पूजा-आराधना गर्दा महादेव छिट्टै प्रसन्न हुने भएकाले आशुतोषसमेत भनिन्छ । यसैले आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन् ।
शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ ।
आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।
आजै नेपाली सेना दिवस परेकाले नेपाली सेनाले टुँडिखेलमा शिवरात्रि विशेष समारोह पनि आयोजना गर्दै छ ।