काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) बाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका छन् । जोशीले संघीय मामिला तथा सामान्य प्रशासन र बुढाले शहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् । जोशी २०७९ को निर्वाचनमा बझाङबाट निर्वाचित भएका थिए । यस्तै बुढा डोल्पाबाट निर्वाचित सांसद हुन् ।
बुधबार दिउँसो बसेको समाजवादीको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो । तर उसले विभिन्न पाँच शर्त राख्दै बुधबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेको थियो । सचिवालय बैठकको निर्णयअनुसार समाजवादीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शहरी विकास मन्त्रालय लिएको छ । यसअघि नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन सरकारमा पनि समाजवादीले दुई मन्त्री र एक राज्यमन्त्री लिएको थियो ।
तत्कालीन गठबन्धन सरकारमा बेदुराम भुसाल कृषि र प्रकाश ज्वाला भौतिक मन्त्री थिए । नन्दा चपाई भौतिक राज्यमन्त्री थिइन् । मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोटेश्वरमा पुगेर समाजवादी अध्यक्ष माधव नेपालसँग दुई घण्टा वार्ता गरेका थिए । वार्तामा भएको सहमतिअनुसार समाजवादीले बुधबार सचिवालय बैठक राखेर नयाँ गठबन्धनमा सामेल हुँदै सरकारमा पनि जाने निर्णय गरेको हो ।