मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने पक्का, अर्थमा वर्षमान

एमालेले आठ, माओवादीले पाँच, रास्वपाले चार र जसपालाई दुई मन्त्रालय

बुधबार, फाल्गुन २३ २०८०

काठमाडौं । नयाँ सत्तागठबन्धनका चार दलबीच कसले कति मन्त्रालय पाउने भन्ने टुंगो लागेको छ ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको चारदलीय कार्यदलले मन्त्रालयको संख्या टुंगो लगाएको हो ।

सहमति अनुसार एमालेले आठ, माओवादीले पाँच, रास्वपाले चार र जसपालाई दुई मन्त्रालय दिन निश्चित भएको छ । बाँकी मन्त्रालय अन्य साना दललाई दिने सहमति भएको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ । रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् ।

आज बसेको कार्यदलको बैठकले रास्वपालाई गृहसहित श्रम, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय दिने टुंग्याएको स्रोतले बतायो ।

माओवादीबाट नारायणकाजी श्रेष्ठले परराष्ट्र र वर्षमान पुनले अर्थमन्त्रीको रूपमा जिम्मेवारी पाउने भएका छन् ।

यस्तै एमालेबाट रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने तय भएको छ । एमाले महासेठकै नेतृत्वमा सरकारमा सहभागी हुन लागेको हो । उसले अन्य मन्त्री टुंग्याइसकेको छैन । यसअघि एमालेबाट पदम गिरीले शपथ लिइसकेका छन् ।

तर सत्तारुढ अर्को दल जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन बैठकमा पार्टीका तर्फबाट मन्त्री हुनेहरूको नाम दिएको छैन।