काठमाडौं । पुरानो गठबन्धन भत्किएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग टेलिफोन सम्वाद गरेका छन् ।
ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाटै फोन गरेका थिए ।
उनले नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड आउँदै गरेको भन्दै प्रधानमन्त्रीले अघि बढाउने प्रस्तावमा आफ्नो पनि सहमति रहेको जनाएका थिए ।
स्वास्थ्यमा सामान्य समस्या देखिएपछि घरमै आराम गरिरहेका अध्यक्ष नेपाललाई एमाले अध्यक्ष ओलीले फोन गरेर स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।
नेपालले भने प्रधानमन्त्री प्रचण्डले पनि सरकारमा आउन आग्रह गरेको स्मरण गर्दै पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ दिएको उनी निकट नेताले बताए ।
विगतमा ओली-प्रचण्ड विवादमा नेपाल, झलनाथ खनाललगायत पनि विभाजित भएका थिए ।
त्यसको केहीसमय पछि सोमबार बेलुका प्रधानमन्त्री दाहाल अध्यक्ष नेपालको स्वास्थ्यलाभको कामना गर्न नेपाल निवास कोटेश्वर पुगेका थिए । प्रधानमन्त्री साथमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि कोटेश्वर पुगेका थिए ।
अध्यक्ष नेपाल केही दिनदेखि बिरामी भएर घरमा आराम गरिहेका छन् । उनीहरुबीच पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफलसमेत भएको बताइएको छ ।