काठमाडौं । टेरामक्स प्रविधि खरीद प्रकरणमा बहालवाला स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव डा. बैकुण्ठराज अर्यालमाथि नै भ्रष्टाचार मुद्दा दायर हुन लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएर आएका स्वास्थ्यमन्त्री बस्नेत र मुख्यसचिव अर्यालले राजीनामा नदिँदा यस्तो अवस्था आएको हो ।
वहालवाला मन्त्री बस्नेत र मुख्यसचिव नै अनुचित लेनदेनमा मुछिएको र टेरामक्स उपकरण खरिद प्रकरणमा अख्तियारमा बयान दिन गएको विषय बाहिर आएको थियो ।
भ्रष्टाचार अभियोग लागेर अदालतमा मुद्दा विचाराधीन रहेका र गैरकानुनी सम्पत्तिसहित दर्जन कसुरमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका विकल पौडेलसँग मुख्यसचिव अर्यालले सन्दिग्ध आर्थिक कारोबार गरेका तथ्यहरू बिहीबार कान्तिपुरले सार्वजनिक गरेको थियो ।
केही दिन अघि प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठकमा उपस्थित आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले छिट्टै मुद्दा दायर गर्ने तयारी भइरहेको जानकारी गराएका थिए। यो प्रकरणको अनुसन्धानका लागि आवश्यक बयान लिनेदेखि प्रमाण संकलन लगायतका काम सकिएको र केहीदिन भित्रै नतिजा आउने उनले बताएका थिए ।
अख्तियार उच्च स्रोतकाअनुसार विकल पौडेल र सुनिल पौडेल जस्तै डा. अर्याललाई पनि हिरासतमा लिएर अनुसन्धान गर्नुपर्ने अवस्था छ । तर, मुख्यसचिव कै कुर्सीमा बसिरहेकाले अख्तियार ‘पर्ख र हेर’ स्थितिमा देखिन्छ । १ महिनादेखि मुख्यसचिव डा. अर्यालले अख्तियारको सुझाव लत्याएकाले अब भने एक्सन लिने अख्तियारको तयारी रहेको बुझिन्छ ।
अख्तियारले टेरामक्समा आज/भोलि नै भ्रष्टाचार मुद्दा लैजान लागेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रणाली खरिद प्रकरणमा बहालवाला मन्त्री र मुख्यसचिवको बयान लिएको थियो । सञ्चार मन्त्री रहेका बखत बस्नेतले टेरामक्स प्रणाली खरिदको प्रक्रिया अघि बढाउने नीतिगत निर्णय गरेका थिए । यो अवधिमा मन्त्रालयका सचिव रहेका महेन्द्रमान गुरुङलाई पनि अनुसन्धानको घेरामा राखेर बयान लिइसकिएको छ । मन्त्रीको नीतिगत निर्णयमा टेकेर नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झाले सञ्चालक समितिबाट निर्णय गराएर प्रक्रिया अघि बढाएका थिए ।
यसअघि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले टेरामक्स प्रकरणको छानबिन गर्न आयोगलाई निर्देशन दिएको थियो । टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्ष समितिको थियो । यद्यपि समितिको निर्देशन अघि नै टेरामक्स खरिदमा अख्तियारले अनुसन्धान थालिसकेको थियो । समितिले अनुसन्धानको प्रगति ३०/३० दिनमा बुझाउन आयोगलाई निर्देशन दिएको छ ।