काठमाडौं । टेरामक्स प्रविधिको उपकरण खरिदमा अनियमितताको आरोप र अनुचित आर्थिक लेनदेनमा मुछिएपछि यति मुख्यसचिव वैकुण्ठ अर्यालको आलोचना सुरु भएको छ ।
भ्रष्टाचार अभियोग लागेर अदालतमा मुद्दा विचाराधीन रहेका र गैरकानुनी सम्पत्तिसहित दर्जन कसुरमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका विकल पौडेलसँग मुख्यसचिव अर्यालले सन्दिग्ध आर्थिक कारोबार गरेको तथ्यहरू सार्वजनिक भएसँगै उनको आलोचना सुरुभएको हो ।
उच्च स्रोतका अनुसार, गतसाता मात्रै मुख्यसचिव अर्यालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा पुगेर बयान दिए । अख्तियारका पदाधिकारीहरुले उनलाई निकास दिन सुझाव दिएका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीमार्फत समेत उनलाई त्यो सन्देश प्रवाह समेत भइसकेको छ ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार विकलसँगको सन्दिग्ध आर्थिक कारोबारबारे प्रधानमन्त्री दाहालले उनीसँग औपचारिक सोधपुछ गरेका छैनन् ।
अख्तियारले नै विशेष अदालतमा पेश गरेको कागजात अनुसार, राष्ट्रिय भुक्तानी प्रणाली स्थापनाको पहिलो चरणको कामकारवाहीमा मुद्दा दायर भए पनि दोस्रो चरणको खरिदको फाइलमा अनुसन्धान भइरहेको छ ।