मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

राष्ट्रियसभा अध्यक्षका लागि गठबन्धनमा तानातान

बुधबार, माघ २४ २०८०

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले पनि राष्ट्रियसभा अध्यक्ष दाबी गर्ने भएको छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने चर्चा चलिरहँदा माओवादीले पनि दाबी गर्ने भएको हो ।

प्रधानमन्त्रीसमेत रहेकामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा अध्यक्षमा पार्टीको दाबी रहने बताए । मंगलबारको माओवादी संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रियसभा अध्यक्षमा पार्टीको दाबी रहने बताएको एक सांसदले जानकारी दिए । तर, सत्ता गठबन्धनभित्र हुने सहमतिअनुसार नै अघि बढ्ने उनको भनाइ थियो ।

‘केही समयपछि संवैधानिक प्रमुखहरूमा पद रिक्त हुने हुनाले राष्ट्रियसभा अध्यक्षमा हाम्रो दाबी स्वाभाविक रहन्छ,’ अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘तर, साझेदार दलको सहमतिकै आधारमा गरिन्छ । गठबन्धनमा जे निर्णय हुन्छ, त्यसलाई स्वीकार गर्नुपर्छ ।’

राष्ट्रिय सभामा माओवादी पहिलो दल भएकोले पनि दाबी स्वाभाविक हुने उनको भनाइ थियो । गठबन्धनका अन्य दलहरूसँग पनि यस विषयमा छलफल भइरहेको उनले बैठकमा बताएका थि। सांसदहरूले माओवादीलाई कांग्रेसले पटक-पटक धोका दिएको भन्दै राष्ट्रियसभा अध्यक्ष छोड्न नहुने धारणा राखेका थिए ।

राष्ट्रियसभा अध्यक्षमा दाबी गरेको माओवादीले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई मन्त्री बनाएर मनाउने प्रयासमा छ । अब मन्त्रिपरिषद् विस्तार गर्दा सिटौलालाई कहीँ व्यवस्थापन गर्ने र राष्ट्रियसभा अध्यक्ष आफूले लिने माओवादी नेताहरूको आन्तरिक तयारी छ । अहिले राष्ट्रिय सभाको उपाध्यक्षमा माओवादीबाट उपाध्यक्ष उर्मिला छन् । फरक दल र लिंगका आधारमा अध्यक्ष/उपाध्यक्ष चयन हुने भएकाले माओवादीले अध्यक्ष अर्यालले राजीनामा दिनुपर्ने हुन्छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आउँदो फागुन २९ गते गर्ने कार्यतालिका छ ।

माओवादीका तर्फबाट वर्तमान उपाध्यक्ष उर्मिला अर्याल र नारायण दाहालले अध्यक्षमा आकांक्षा देखाएका छन् । हाल राष्ट्रियसभा उपाध्यक्ष रहेकी अर्याल र मनोनीत सांसद दाहालले अध्यक्षका लागि आन्तरिक लबिङ गरिरहेको माओवादीकै नेताहरू बताउँछन् । माओवादीले पाएको खण्डमा अर्याललाई अध्यक्ष बनाउन नेताहरूसमेत सकारात्मक रहेको नेताहरू बताउँछन् ।

यता कांग्रेसका एक नेताका अनुसार सिटौलालाई राष्ट्रियसभाको अध्यक्षमा बनाउने गरी गठबन्धनमा पहिले नै अनौपचारिक सहमति भइसकेको र माओवादी त्यसबाट ब्याक हुन नमिल्ने तर्क गर्छन् । उनका अनुसार माओवादीले पूर्व सहमति लत्याउनेसम्मको कार्य गर्नै नसक्ने उनको भनाइ छ । ठूलो दलको नाताले उसले दाबीसम्म गर्नु कुनै अनौठो नहुने बताउँदै उनले अन्तत माओवादीले सिटौलालाई नै समर्थन गर्नुको विकल्प नभएको उनको तर्क छ ।

माओवादीले पनि दाबी गरेपछि राष्ट्रियसभा अध्यक्षका लागि गठबन्धनमा तानातान हुने देखिएको छ । कांग्रेसले पहिलेदेखि नै अध्यक्षमा दाबी गरेको छ । कांग्रेसबाट नेता सिटौला अध्यक्षका लागि चर्चामा छन् ।

यस्तै, गठबन्धनकै अर्को दल एकीकृत समाजवादीले पनि अध्यक्षमा दाबी गर्दै आएको छ । राष्ट्रियसभा अध्यक्ष संवैधानिक परिषद्को सदस्यसमेत रहने हुँदा मुख्य दलको ध्यान यसमै केन्द्रित भएको हो । अहिले राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधि सभाका सभामुख एमालेबाट छन् । उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको छ ।

आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र १९ जना सदस्य ६ वर्षे कार्यकाल पूरा गरी बहिरिँदै छन् । आगामी फागुन २० गते राष्ट्रपतिबाट मनोनीतसमेत एमालेका नौ, कांग्रेसका चार माओवादीका तीन, एकीकृत समाजवादीका दुई, जसपाका एक र स्वतन्त्र सांसद एकजना गरी राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै छ । यद्यपि, यसबारे गठबन्धनमा औपचारिक छलफल सुरु भएको छैन ।

राष्ट्रिय सभामा अध्यक्ष चयन गर्दा चाहिने मत माओवादीले कांग्रेसबिनै पनि पु¥याउने देखिएको छ । ५९ सिट रहेको राष्ट्रिय सभामा अध्यक्षका लागि ३० सांसद चाहिन्छ । जसमा माओवादी, नेकपा एस, जसपा र जनमोर्चा मिले ३० सांसद संख्या पुग्छ । राष्ट्रिय सभामा पहिलो बनेको माओवादीको उपाध्यक्षसहित १७ सांसद छन् । माओवादीका १७, नेकपा एसका आठ, जसपाका तीन र जनमोर्चाका दुई (मनोनीतसहित) हुँदा सांसद संख्या ३० पुग्छ । जुन राष्ट्रिय सभामा अध्यक्ष लिन पर्याप्त छ । राष्ट्रिय सभामा कांग्रेसको १६ र एमालेका १० सांसद छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमोर्चा तथा स्वतन्त्रको एक-एकजना छन् । राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई ल्याउने सहमति बनिसकेको छ ।