मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

नियमविपरीत भए जग्गा फिर्ता गर्ने अरुण चौधरीको बयान

आइतबार, माघ २१ २०८०

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीले नियमविपरीत भए जग्गा फिर्ता गर्ने बताएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठको अगुवाइमा अनुसन्धान अधिकृतहरूले लिएको बयानमा उनले यस्तो बताएका हुन्। बयानका क्रममा चौधरीले कानुनविपरीत भएको पाइएमा आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका एक अनुसन्धान अधिकृतले जानकारी दिए ।

अनसन्धान अधिकृतका अनुसार चार दिन म्याद थप भएकाले त्यही म्यादभित्र रहेर अनुसन्धान भइरहेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले कानुनी प्रक्रियाअन्तर्गत नै बयान लिन थालिएको जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तीन महिनाको अनुसन्धानपछि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा चौधरीलगायत तीन जनालाई यही माघ १८ गते पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको छ । उक्त प्रकरणमा काठमाडौं महानगरपालिका २६ का तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेड (पछि प्रालि बनाइएको) का सेयरधनी तथा सञ्चालक ६० वर्षीय अरुणकुमार चौधरीसहित काठमाडौं महानगरपालिका–९ बस्ने तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष ८० वर्षीय अजितनारायण सिंह थापा, महोत्तरी घर भएका च्याम्पियन फुटवेयर प्रालि तथा सिजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरी म्याद थपेर आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

उनीहरूलाई अनुसन्धान अधिकृतले क्रमैसँग बयान लिनेछन् । सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज आचार्यले भने, ‘पछिल्लो अवस्थामा प्रहरीले अनुसन्धान नगरीकन व्यावसायिक घरानालाई पक्राउ गरियो भन्ने कुराहरू आएको छ, यो लामो समयको अनुसन्धानपछि नै पक्राउ गरिएको हो ।’