काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको लगायत अभियोगका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा उनीहरूविरुद्ध आयोगले यसअघि नै मुद्दा दायर गरेको थियो । नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको आयोगको ठहर छ । आयोगका अनुसार विकल पौडेलको हकमा संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति लिएको पाइएको छ । उनीहरुले कसुरसम्बद्ध प्रमाण नष्ट गर्नसक्ने, भागी जाने सम्भावनासमेत भएकाले अनुसन्धान कार्यमा बाधा नपुगोस् भन्ने उद्देश्यले उनीहरूलाई पक्राउ गरिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिए।
अख्तियारले दुवै जनालाई आज विशेष अदालतमा उपस्थित गराउने तयारी छ ।
पक्राउ परेका दुवैजना सेक्युरिटी प्रिन्टिङ प्रकरणमा जोडिएका व्यक्ति हुन् । विकल पौडेलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितताको आरोपमा मुद्दा दायर भइसकेको छ भने सुनिलमाथि पेमेन्ट गेट(वे अनियमिततामा मुद्दा चलेको हो । आयोगको टोलीले नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई नियन्त्रणमा लिएको हो ।
२०८० असोज १५ मा अख्तियारले पौडेलसहितका व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो । त्यस्तै, २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि दुवै निलम्बनमा छन् ।
मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको स्रोतसाधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरूलाई थप छानविनका लागि अख्तियारले नियन्त्रणमा लिएको हो । बुधबार पक्राउ परेका उनीहरू दुवै जनालाई अख्तियारको हिरासतमा राखिएको छ । शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियारको टोलीले छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।
अख्तियारको अनुसन्धानका क्रममा नेपाल राष्ट्र बैंकको स्वीकृतिबेगर उनीहरूले विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली ठूलो रकम जम्मा गरेको फेला परेको छ । यो रकम उनीहरूले सरकारी संस्थामा हुँदा गरेका ठूल्ठूला खरिदबापतको कमिसन हुनसक्ने अख्तियारको अनुमान छ । यस्तै, उनीहरूले नेपालको सरकारी सेवामा कार्यरत रहँदाकै अवस्थामा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको भेटिएको छ ।
विकल पौडेलले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको पाइएको छ । त्यसैले उनीहरूले प्रमाण नष्ट गर्नसक्ने र देशबाटै भागेर जाने सम्भावना देखिएकाले जरुरी पक्राउ पुर्जी दिई हिरासतमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए ।
अख्तियारले सुनिल पौडेल सहितविरुद्ध गत असोज १५ गते २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगोसहित भ्रष्टाचार मुद्दा चलाइसकेको छ । त्यो मुद्दा विचाराधीन नै छ । त्यसबेला अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका उपनिर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र तत्कालीन लेखा अधिकृतहरू निमबहादुर वली र रामबहादुर बुढाविरुद्ध पनि मुद्दा चलाएको थियो । अख्तियारले त्यही प्रकरणमा कम्प्युटर इञ्जिनियर रामशरण गायक, अर्थ मन्त्रालय बजेट महाशाखाका पूर्वप्रमुख एवं सचिव मधु मरासिनीविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।
उता, विकल पौडेलविरुद्ध करिब ७० करोड रुपैयाँ बिगोसहित अख्तियारले गत वैशाखमा भ्रष्टाचार मुद्दा चलाएको थियो । उनले सुरक्षित मुद्रण केन्द्रका लागि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा अस्वाभाविक लागत तयार गरेको, खरिद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गरेको, सम्झौतामा उल्लेख भएभन्दा फरक देशमा उत्पादित जेनेटेर स्वीकार गरी भुक्तानी गरेको आरोप अख्तियारको छ ।