मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

मेयर साम्पाङले लगाए धरान नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध

आइतबार, माघ ७ २०८०

धरान । धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तिजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको हो।

उपमहानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा १५ दिनभित्र सार्वजनिकस्थलबाट सुर्तिजन्य वस्तु पूर्णरुपमा नहटाए जफत गरेर कानुन बमोजिम जरिवाना गरिने उल्लेख छ।

सुर्तीजन्य पदार्थको विक्रिवितरण र उपयोगबाट जनस्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै प्लाष्टिक वा बट्टामा प्याकेजिङ्ग गरिएका सूर्तीजन्य पदार्थको कारण पर्यावरण प्रदुषित हुने, फोहोर मैला बढ्न गई शहरको सुन्दरतामा प्रतिकूल प्रभाव पर्ने अवस्थालाई दृष्टिगत गरी धरान नगर क्षेत्रका सार्वजनिक स्थलहरु (पाटीपौवा, बाटोघाटो, पुस्तकालय, सार्वजनिक शौचालय, व्यायमशाला, अस्पताल, शैक्षिक संस्था, धर्मशाला, धार्मिक स्थल) लगायत सार्वजनिक स्थानहरुमा चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कट, प्लाष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने जस्ता सूर्तीजन्य वस्तु भण्डार, बिक्री र प्रयोगमा रोक लगाउने निर्णय भएको उल्लेख छ ।

बजारमा जथाभावी सुर्तिजन्य पदार्थ किनबेच हुँदा एकातिर मानव स्वास्थ्यमा नकारात्मक असर परिरहेको र अर्कातिर गुट्खा, खैनी आदिका बट्टा जथाभावी फालिँदा फोहर बढेकाले प्रयोगमा रोक लगाइएको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले जानकारी दिए।

कसैले उक्त सूचनाको अवज्ञा गरी विक्री वितरण तथा भण्डार गरेको पाईएमा नगर प्रहरी मार्फत जफत गरी कानून बमोजिम जरिवाना गरिने व्यहोरा जानकारीको लागि सूचना प्रकाशित गरिएको भनिएको छ ।