काठमाडौं । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसीले पार्टी महासचिव देव गुरुङमाथि भ्रष्टाचारको आरोप लगाएका छन् ।
पार्टीलाई बुझाएको स्पष्टीकरण पत्रमा केसीले महासचिव गुरुङ नै विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएको आरोप लगाएका हुन्।
वैकल्पिक केन्द्रीय सदस्य केसी र उनको सचिवालयका एकजनाले भूकम्प प्रभावितलाई राहत दिन जाजरकोट पुगेकी एक चिनियाँ महिलामाथि हातपात गरेको आरोपमा केसीमाथि पार्टीले स्पष्टीकरण सोधेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीले पठाएको सहयोग सामग्रीलाई महासचिव गुरुङले भनसुन गरी आफ्नो भदैनीको पति रहेका मुक्ति मरासिनीको संस्था ग्लोबल को–ओपरेसन फर डेभलपमेन्टलाई दिलाएको र यसको भ्रष्टाचारबाट हुने आम्दानीमा दुवै हिस्सेदार रहेको केसीको दाबी छ ।
उनले भ्रष्टाचारी महासचिव गुरुङलाई आफूले आफ्नो घरबाट लखेटेर निकालेको समेत बताएका छन् । उनले लामो स्पष्टीकरणमा देव गुरुङको षडयन्त्रमा पार्टी परेको भन्दै उनलाई महासचिवबाट हटाएर आफू बन्ने सोच पलाएको भन्दै स्पष्टीकरण अन्त्य गरेका छन् ।
गुरुङका नातेदार मुक्ति मरासिनीको संस्थामार्फत राहतमा भ्रष्टाचार गरेको विषय आफूले भण्डाफोर गर्दा कारबाही गर्न उनैले स्थायी कमिटीमा प्रस्ताव गरेको भन्दै आफूमाथिको आरोप अस्वीकार गरेका छन् ।
स्पष्टीकरण पत्र