काठमाडौं । ओमिक्रोनको नयाँ सब-भेरियन्ट जेएन. १ (JN.1) नेपालमा पनि पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार जिनोम सिक्वेन्सिङ प्रविधिबाट जेएन. १ को सङ्क्रमण पुष्टि भएको हो ।
नेपालमा पहिलोपटक देखिएको कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ सङ्क्रमण दर बढीरहेको पाइएको छ ।
इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीका अनुसार अन्य भेरियन्टको तुलनामा यसको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर उच्च रहेको छ । ‘शहरमा बढी भीडभाड हुने हुनाले जेएन-१ को एकापसमा सर्ने दर बढी रहेको छ, रोगको जटिलता र मर्ने दर भने कम रहेको छ’, उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयले सङ्क्रामक दर बढी भएकाले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डजस्तै मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ ।
कोभिड–१९ को नयाँ सब भेरियन्टको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै मन्त्रालयले प्रवेश विन्दुका सबै हेल्थ डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्था तथा सबै सरोकारवालामार्फत आवश्यक ‘स्किनिङ्ग’ र निगरानी गरिरहेको जनाएको छ ।
हाल विश्वका केही देशहरुमा कोभिड – १९ सङ्क्रमण ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन. १ को जोखिम बढिरहेको र छिमेकी देशहरुमा पनि सङ्क्रमण फैलिरहेकाले मन्त्रालयले आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको छ ।