सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

सत्ता गठबन्धनमा टुंगियो राष्ट्रियसभा निर्वाचनमा सिटको भागवण्डा

आइतबार, पुष २२ २०८०

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सरकारमा सहभागी चार दलबीच सिट बाँडफाँटबारे सहमती भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी चार दलको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी सहमती भएको बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

गठबन्धनका अन्य तीन दललाई भने भाग छुट्याइएको छैन। सत्ता गठबन्धनमा जनमत, नागरिक उन्मुक्ति र जनमोर्चा छन्। उनीहरुले एक-एक सीट दाबी गर्दै आएका थिए ।

यसअघि शनिबार अबेरसम्म बसेको बैठकले तयार पारेको सिट बाँडफाटको खाकामा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि आज पुनः छलफल अघि बढाईएको थियो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी रहेका उनले बताए ।

शनिबार रातिको बैठकमा राष्ट्रिय सभामा रिक्त १९ सिटका लागि गरेको सहमती अनुसार एकीकृत समाजवादी आफूले पाउने सिटप्रति असन्तुष्टी जनाएर बैठकबाट बाहिरिएको थियो ।

यसअघि एकीकृत समाजवादीले तीन सिटमा दाबी गरेपछि आज बिहान पुनः गठबन्धनको बैठक बसेको हो ।

शनिबारको छलफलमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने निर्णयमा एकीकृत समाजवादीले असन्तुष्टी जनाएको थियो ।

यसैबीच राष्ट्रियसभाको सीट भागबन्डामा असन्तुष्टि जनाएको नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ ।

पार्टी मुख्यालय आलोकनगरमा केही बेरमा बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

कोशीमा कांग्रेसले १ र माओवादीले १, मधेशमा कांग्रेसले १ र जसपाले १, सुदूरपश्चिममा कांग्रेसले १ र माओवादीले १ र लुम्बिनीमा कांग्रेसले १ र माओवादीले १ सिट पाउने अनौपचारिक सहमति भएपनि यसमा समाजवादी सन्तुष्ट देखिएको थिएन।

माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा भोली उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ । राष्ट्रिय सभामा आगामी फागुन २० गते राष्ट्रपतिबाट मनोनीत एक जनासहित २० जनाको पदावधि सकिँदै छ।