काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी गएपछि ललितपुरको बालकुमारीमा घटना भएको प्रष्टीकरण दिएका छन् ।
संसदीय समितिमा छलफलका क्रममा उनले मन्त्रीको गाडी त्यही रुट भएर गएपछि प्रदर्शनकारीहरू उग्र बनेको बताए ।
‘मन्त्रीको गाडी आएपछि अवस्था बिग्रेको हो। त्यो गाडी त्यहाँ नआएको भए यो घटना हुने थिएन,’ उनले भने, ‘उपत्यकामा मन्त्रीकै सुरक्षामा कमजोरी नहोस् भनेर प्रहरी अगाडि बढ्ने क्रममा घटना भएको छ। प्रहरी पुग्दासम्म त गाडी जलिसकेको अवस्था थियो’ । गोली चलेको यकिन नभए पनि १२ः२० मा मन्त्रीको गाडीमा आगजनी भएको उनले बताए ।
यही पुस १३ गते ईपीएस कोरिया भाषा परीक्षार्थीहरुको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा दुई जनाको मृत्यु भएको थियो ।
पानी जहाज निर्माण क्षेत्रतर्फ भाषा परीक्षा दिएर असफल भएकाहरुले उत्पादनमूलक क्षेत्रतर्फ पनि भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो । आक्रोशित भिडले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाइदिएको थियो ।