सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

बालकुमारी घटना : सामाजिक सञ्जालदेखि देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन

थामथुम पार्ने सरकारको प्रयास

आइतबार, पुष १५ २०८०

काठमाडौं । पानीजहाज बनाउने कामका लागि कोरिया भाषा परीक्षा दिएका तर फेल भएका युवाहरूले पुनः भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै ललितपुरको बालकुमारी क्षेत्रमा शुक्रबार प्रदर्शन गरेका थिए । उनीहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडी जलाइदिएका थिए ।

त्यसक्रममा प्रहरीसँगको धरपकडमा दुई युवकको मृत्यु भएको थियो । झडपमा वीरेन्द्र शाह र सुजन रावतको मृत्यु भएको छ ।

दुई युवकको ज्यान जानेगरी बालकुमारीमा भएको प्रदर्शनमा सरकारको गम्भीर लापरबाही देखिएको भन्दै यतिबेला सामाजिक सञ्जालदेखि देशका विभिन्न ठाउँमा सरकारको विरोध भइरहेको छ ।

शुक्रबार ललितपुरको बालकुमारीमा दुई युवाको प्रहरी दमनबाट मृत्यु भएपछि शनिबार माइतीघरमा युवाहरुले विरोध प्रदर्शन गरेका थिए । निशेधित क्षेत्र तोड्दै आक्रोशित युवाले प्रदर्शन गरेपछि उनीहरु मध्ये सात जनालाई प्रहरीले नियन्त्रणमा दिएको थियो ।

शुक्रबारको घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग राख्दै माइतीघरको निषेधित क्षेत्रमा आन्दोलन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस्तै मृतकका आफन्त तथा विभिन्न राजनीतिक दलका युवाहरूले सुर्खेतको शनिबार वीरेन्द्रचोक, यरीचोक, मंगलगढी लगायतका चोकमा टायर बालेर प्रदर्शनमा गरेका थिए ।

उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् । सरकारको कार्यशैलीले देशमै सुरक्षाको वातावरणको ग्यारेण्टी गर्न नसकेको भन्दै युवाहरूले सरकारको चर्को विरोध गरेका हुन् । मृतकलाई शहीद घोषणा गर्नुपर्ने, परिवारको आजीवन जीवन सुरक्षाको ग्यारेण्टी हुनुपर्ने उनीहरूको माग छ ।

ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा परी निधन भएका युवालाई शहीद घोषणा गर्नुपर्ने लगायतका मागसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विरोध प्रदर्शन गरेको छ । बालकुमारीस्थित घटनास्थलमा पुगेर रास्वपा जिल्ला कमिटीले शनिबार प्रदर्शन गरेको हो । प्रदर्शनमा रास्वपा सांसद तोसिमा कार्की लगायतको उपस्थिति थियो । रास्वपाले उक्त प्रदर्शनलाई शान्तिपूर्ण सांकेतिक विरोध गरिएको जनाएको छ ।

सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ ।

गृह मन्त्रालयले ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ रुद्रप्रसाद पण्डितलाई मन्त्रालयमा तानेको हो ।

शनिबार बिहान प्रधानमन्त्री र गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीहरूबीच भएको छलफलमा प्रजिअ र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको थियो । शनिबार नै सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाका प्रमुख गुरुदत्त सुवेदी, ललितपुरका प्रहरी नायव उपरीक्षक उमेशराज लम्साल र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका पिएसओ बोधराज दनुवारलाई निलम्बन गरेको छ ।

सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई युवकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घटनामा मृत्यु भएका दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

घटनापछि शुक्रबारै सरकारले सत्यतथ्य छानविन गर्न नेपाल प्रहरीका डिआइजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

त्यहीकारण हाललाई छानविन नटुंगिएसम्म गोली चलाउन आदेश दिने डिएसपी, मन्त्रीका पिएसओ र उपसचिव लगायतका कर्मचारीलाई निलम्बन गरिएको छ । उक्त घटनाको निष्पक्ष छानविन गर्ने र भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्र र अन्य सम्बन्ध संयन्त्रहरूलाई थप सतर्क संयमित र प्रभावकारी बनाउने पनि भएको छ ।

मृतकका परिवार र प्रधानमन्त्री प्रचण्डबीच भेट

बालकुमारी घटनामा मृत्यु भएका दुईजना वीरेन्द्र शाह र सुजन रावतका आफन्तले शनिबार नै प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका छन् ।

मृतकका परिवारले ११ बुँदे माग पत्र प्रधानमन्त्रीलाई बुझाउँदै उचित क्षतिपूर्तिको माग पनि गरिएको छ । उनीहरुले सरकारसँग ती मागको प्रतिवद्धताका लागि आइतबार १० बजेसम्मको अल्टिमेटम समेत दिएका छन् ।
उनीहरुले मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने र परिवारका एक एक जनालाई रोजगारीको व्यवस्था गर्न लगायतका माग राखेका छन् ।

आन्दोलनमा घाइते भएकाहरूको उपचारको व्यवस्था गर्नुपर्ने, बेपत्ताहरूको खोजीनिती गरी उनीहरूको अवस्था सार्वजनिक गर्न पनि माग गरिएको छ ।

आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई निः सर्त रिहा गर्न पनि मृतकका परिवारले माग गरेका छन् ।

घटनास्थलको सिसिटिभी फुटेज सुरक्षित राखी छानबिनको आधार बनाउनुपर्ने र मृतकको आफन्तको इच्छाअनुसार सदगदको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा दोषी देखिएकालाई निलम्बन गरिसकिएको पीडित पक्षलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।