सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक लक्ष्मी पुनको योग्यतामाथि प्रश्न

शुक्रबार, पुष १३ २०८०

काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशकमा नियुक्त लक्ष्मी पुनको योग्यतामाथि सांसदहरुले प्रश्न उठाएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले हालै पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेसँगै सांसदहरुले यसको बिरोध गरेका हुन् ।

बिहीवार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरुले कार्यकारी निर्देशकमा नियुक्तिका लागि पुनको योग्यतामाथि प्रश्न उठाए । सांसदहरुले उहाँको शैक्षिक योग्यता, अनुभव र धर्म लगायतका विभिन्न विषयहरुमाथि प्रश्न तेर्साएका हुन् । बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद एकनाथ ढकालले पुनको नाम समानुपातिक उम्मेदवारको सुचिमा रहेको उल्लेख गर्दै यस्तो व्यक्ति राज्यको कुनैपनि निकायमा नियुक्त हुन नसक्ने बताए । उनले यस्तो विवादित व्यक्तिलाई पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक बनाउनु नहुने धारणा राखे ।

ढकालले पशुपति क्षेत्र विकास कोषमा धेरै कर्मचारीहरु नियुक्त गर्ने गरिएको भन्दै कुन कानून र नियमावलीमा टेकेर कर्मचारी नियुक्त गरिएको हो भनि प्रश्न समेत गरे ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले कार्यकारी निर्देशक नियुक्तिको मापदण्ड पूरा नभएकाले प्रश्न उब्जिएको बताए । उनले कानून बमोजिम नियुक्ति भए, नभएको सन्दर्भमा सम्बन्धित निकायले प्रष्ट्याउनुपर्ने बताए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सत्तारुढ नेकपा(माओवादी केन्द्र)को केन्द्रिय सदस्यलाई नियुक्त गरिएको भन्दै आफ्नो कार्यकर्ता नैतिक रुपले राख्न नमिल्ने बताए । उनले सो नियुक्तिमा योग्यताको समेत ख्याल नगरिएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल समशेर जबराले लक्ष्मी पुन क्रिश्चियन धर्मावलम्वी भएको प्रचार रहेको उल्लेख गर्दै यदी सो कुरा सत्य भएमा राज्यले हिन्दु धर्मावलम्वीहरुप्रति अन्याय र अपराध गरेको ठहर्ने बताए । उनले पुनको धर्म र शैक्षिक योग्यतामाथि छानविन गर्नुपर्ने माग गरे ।