काठमाडौं । नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यद्पि देशभरको तापक्रममा गिरावट आइरहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भू-भागका एक/दुई स्थानमा हल्का देखि मध्यम हुस्स/कुहिरो लागेको छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।
राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले आज बिहान जारी गरेको सूचनामा उल्लेख छ ।