आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भूकम्प राहत पहुँचको भरमा वितरण भइरहेको गुनासो

पूर्वअर्थमन्त्री शर्माले भने : चरित्र हत्या गर्न खोजियो

शुक्रबार, कार्तिक २४ २०८०

काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा अनुगमनमा गएको संसदीय समितिले पनि राहत वितरण सन्तुलित नभएको र आवश्यकताभन्दा पनि पहुँचको भरमा वितरण भइरहेको गुनासो सुनिन थालेका छन् ।

प्रभावित दुवै जिल्लालाई लक्षित गरी गएको राहत माओवादी नेता तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले आफ्नो निर्वाचन क्षेत्र रुकुम पश्चिमतर्फ राहत ओसारेको आरोप लागेको छ ।

जाजरकोटका लागि काठमाडौंबाट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रक पूर्वमन्त्री जनार्दन शर्माले बाटोबाटै हाइज्याक गरेको आरोप छ । यसैबीच शर्माले त्यसको प्रतिवाद गरेका छन् ।

शर्माले आफ्नो चरित्र हत्या नगर्न आग्रह गरेका छन् ।

देशको चर्चित राष्ट्रिय दैनिक पत्रिकाले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितका लागि आएको राहतका विषयमा आफ्नो नाम जोडेर गलत प्रचार तथा चरित्र हत्या गरेको भन्दै खेद प्रकट गरे ।

‘समाचारमा उल्लेख भएका विषयवस्तु अहिलेको संवेदनशील अवस्थामा कान्तिपुर दैनिकले विगतदेखि निरन्तर रूपमा मेरो राजनीतिक जीवनमाथी प्रहार गरी बदनाम गरी चरित्रहत्या गर्ने कडीको रूपमा लिएको छु ।’ नेता शर्माले सामाजिक संजालमार्फत् भनेका छन् ।

जाजरकोटका लागि राहत बोकेर हिँडेका ट्रक शर्माको निर्देशनमा सल्लीबजारबाट बलपूर्वक रुकुम पश्चिमतर्फ लगिएको समाचार आएका छन् । जाजरकोटमा त्यो सामग्री पुगेकै छैन भने रुकुम पश्चिममा पनि अभिलेख नगरी रातारात बाँडिएको चर्चा छ ।

भूकम्पको केन्द्रबिन्दु जाजरकोटका २० प्रतिशत पीडितका घरमा अहिलेसम्म सामान्य राहत पनि पुगेको छैन ।

यसैबीच संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भूकम्पबाट प्रभावितहरूलाई भेदभावरहित तरिकाले राहत वितरण गर्न निर्देशन दिएका छन् ।

भूकम्प प्रभावितहरूको अवस्था बुझ्न रुकुम पश्चिम पुगेका सभापति खतिवडाले कसैलाई काखा र कसैलाई पाखा नगरेर राहत उपलब्ध गराउनुपर्ने बताए । विपद्को सामना गर्न सिङ्गो राज्य एक भएर लागेको बताउनुहुँदै उनले सरकार जनताको साथमा छ भने देखाउन कुनै पनि कन्जुस्याइँ नगर्न निर्देशन गरे ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार बेलुका भएको भूकम्प पीडितहरूको राहत, पुनर्स्थापना एवम् प्रभावित क्षेत्रको पुनर्निर्माण विषयमा भएको छलफल कार्यक्रममा सभापति खतिवडाले त्रिपाल र टेन्टमुनि बसिरहेकाहरूको लागि अस्थायी आवासको व्यवस्था गर्न जरुरी रहेको जनाए । विद्यालय भवन, स्वास्थ्य संस्था तथा खानेपानीको आयोजनाहरूमा पुगेको क्षतिको यथार्थ विवरण सङ्कलन गर्न समेत उनले निर्देशन गरे ।