काठमाडौं- चितवनको राप्ती नगरपालिका–१ बाट स्रोत नखुलेको नगद १० लाख ८० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका–६ बस्ने ३३ वर्षीय बिजय दंगोङरिया चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित लोथर चेक पोष्टमा खटिएको प्रहरीले हेटौंडाबाट बुटवलतर्फ जाँदै गरेको लु.१ क १९७९ नम्बरको मिनि कन्टेनरलाई जाँच गर्ने क्रममा गाडीको क्याबिनमा कार्टुनमा लुकाई राखेको उक्त रकम फेला पारी कन्टेनर चालक चौधरीलाई पक्राउ गरेको हो ।
सिरहाको सखुवानान्कारकट्टि गाउँपालिका–५ बाट स्रोत नखुलेको नगद ४ लाख ९७ हजार ९ सय रुपैयाँसहित भारत मधुबनी ग्राम पञ्चायत सुगापट्टि–११ बस्ने २९ वर्षीय सन्तोष कुमार महतोलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले ठाडिबाट लहानतर्फ जाँदै गरेको ‘अन टेष्ट’ लेखिएको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।