काठमाडौं । यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् ।
सहकर्मी महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोप लागेका उनले छानबिन समितिको प्रतिवेदनका आधारमा प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएपछि राजीनामा दिएका हुन् । तर, यौन दुर्व्यवहारमा कानुनी कारबाहीबाट भने उनले उन्मुक्ति पाएका छन् ।
प्रहरी प्रधान कार्यालयले उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालय पठाएको छ । जेठ १९ मा बिदामा घर जान लागेकी सहायक हवल्दारलाई उनले सेटबाट आफ्नो निवासमा बोलाएर ‘तिमी मलाई मन पर्यो, आज गुड फ्राइडे’ मनाउनुपर्छ भन्दै दुर्व्यवहार गरेको घटना बाहिरिएको थियो ।
त्यसपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाललाई निलम्बन गरेको थियो । छानविन समितिले अनुसन्धान गर्दा उनी पटके यौन दुर्व्यवहारी रहेको खुलेको अनुसन्धान स्रोतले बतायो । उनी कार्यरत कार्यालयमा कार्यरत अन्य महिला प्रहरी कर्मचारीसँग समेत समितिले सोधपुछ गरेको थियो ।
पाल यस अगाडि पनि पटकपटक यौन काण्डमा मुछिएका प्रहरी अधिकृत हुन् । २०७१ सालमा सोलुखुम्बु जिल्लाको प्रहरी प्रमुख भएको बेलामा महिला प्रहरी र गैर प्रहरीमाथिको यौन दुर्व्यवहारको घटनाको उजुरीका आधारमा सरुवा भएका थिए । त्यस्तै बौद्ध वृत्त प्रमुख हुँदा पनि उनी कारबाहीमा परेका थिए ।