शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सुन तस्करी प्रकरणमा सरकार आफैँ जोडिएकाले नै उच्च स्तरीय छानविन आवश्यक : अध्यक्ष ओली

बिहिबार, साउन १८ २०८०

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन् ।

पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद बैठक सूचना टाँस गरेर स्थगित गर्न बाध्य बनाएको ओलीले जिकिर गरे । तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिने, नभए संसद बैठकलाई संचालन नगर्ने सरकारको हर्कतका कारण संसद बैठक सूचना टाँस गर्दै स्थगित भइरहेको दाबी गरे ।

उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिए हुने सहमती गरेर पनि केपी ओलीले सो सहमती बालुवाटारबाट बाहिरिएपछि लत्याएको भनेर प्रचार गरेको सुन्दा आफूलाई अचम्म लागेको समेत बताए ।

उनले भने, ‘उहाँहरु संसदमा आवाज उठछ भनेर अस्तीका दिन संसद चल्न दिनुभएन । किनभने सांसद बोल्छन भनेर । हामीले संसद चलाऊ भनेका छौं । सांसदहरु बोल्नु हुन्छ । आवाजहरु उठाउनु हुन्छ । जनताको भनाई भन्नुहुन्छ । सांसदले बोल्न पाउनुप¥यो । सरकार सांसदलाई बोल्न दिँदैन । सभामुखलाई दवाव दिन्छ कि तपाईँले सूचना टाँसेर संसद रोक्नुस् भनेर । हिजो हामीले बोल्न दिनुपर्छ उहाँहरुले बोल्न दिन चाहनु भएन । एक जना गृहमन्त्री मात्रै बोल्ने रे । जो भन्सार नियन्त्रण गर्न योग्य छैन ।’

अध्यक्ष ओलीले सरकार आफैँ संलग्न भएकाले सो सुन तस्करी प्रकरणमा आफूहरुले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नु परेको पनि पटकपटक दोहो-याए।

उनले भने, ‘सांसद बोल्छन भनेर सरकार संसद चल्न दिँदैन । अनि बालुवाटारमा भएको सहमति अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आउँदा केपी ओलीले छोडिदियो भन्ने हल्ला चलाउँछन् । गृहमन्त्रीले भाषणा गरेपछि चलाउन दिन्छु भनेको थियो । गृहमन्त्रीको भाषण, त्यो पवित्र भाषण, त्यो मन्त्र, उनको त्यो कुरा सुनौं, त्यति भएपछि सुनसुन जेसुकै होस् । सदन चलाउनुस्, गरिखानुस् भनेर आएको थिँए म ? यस्ता कुरा गर्ने ? गृहमन्त्रीलाई भाषण गर्न दिनुस् । भाषण गराईदिएपछि हामी चित्त बुझाउँछौं, सदन चलाउँछौं भनेर भनेको थियो केपी ओलीले भन्छन् । अचम्म लाग्छ ।’

अध्यक्ष ओलीले साँढे नौ किलो सुन बरामद गरेर भन्सार गोदाममा राखिएपनि सो सुन चोरी भएको र नक्कली सुन त्यहाँ राखिएको आफूले सूचना पाएको समेत बताए । त्यस अवसरमा उनले वर्तमान सरकारले मुलुक चलाउनै नसक्ने बताए ।