काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली आज बिहान बालुवाटार पुगेका हुन् ।
संवैधानिक परिषद् बैठक बोलाउने तयारी भइरहेका बेला ओली बालुवाटार गएको ओलीको सचिवालयले जनाएको छ । उनीहरुबीच संसदको अवरोध हटाउने लगायतका विषयमा पनि कुराकानी भएकाे छ ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जान केही दिन मात्रै बाँकी रहँदा पनि नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढ्न नसकिरहेको बेला दुबै नेता बिच भेट बाक्लिएको हो ।
यसअघि आइतबार पनि ओलीले प्रचण्डलाई भेटेर परिषद् बैठक डाँकी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउन दबाब दिएका थिए ।
सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की अनिवार्य अवकाशमा जान केही दिन मात्रै बाँकी रहँदापनि नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
यसैगरी उनीहरुबीच संसदको अवरोध हटाउने र मंगलबार प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकको विषयमा छलफल भएको स्रोतले बतायो । साथै सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने विषयमा समेत दुई नेताबीच कुराकानी भएको बुझिएको छ ।
सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सङ्घीय संसदको दुवै सदनको बैठक अवरोध गर्दै आएको छ ।