काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ ।
बिहीबार राष्ट्रियसभा बैठक सुरु भएलगत्तै एमालेका सांसद उठेर विरोध जनाएपछि सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले देवेन्द्र दाहाललाई बोल्न समय दिए । त्यसपछि दाहालले १०० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएकाले यसको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेका हुन् ।
गृहमन्त्रीको संलग्नताबिना सुन विमानस्थलबाट नबाहिरिने भएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठ नैतिकताका आधारमा पनि पदमा बस्न नमिल्ने दाहालको भनाइ छ ।
तत्कालै विमानस्थलमा सुरक्षामा खटिएका र भन्सार प्रमुखलाई निलम्बन गरेर छानबिन गरेको भए गृहमन्त्रीको संलग्नताबारे आशंका गर्नु नपर्ने थियो भन्दै दाहालले यसर्थ यस प्रकरणमा विश्वासिलो संसदीय वा न्यायिक उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरे । संसदीय उच्चस्तरीय छानबिन समिति गठन भएमा राष्ट्रिय सभालाई पनि सहभागी गराउनुपर्ने उनको माग छ ।
यस्तै बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सभामुखले रूलिङ गर्नुपर्ने र समिति गठनको सुनिश्चितता नभएसम्म संसद चल्न नसक्ने जानकारी गराएका थिए ।
बुधबारको बैठकमा प्रमुख सत्ता घटक नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले पदबाट राजीनामा दिनुपर्ने बताए । शर्माले सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए । उनले गृहमन्त्री र अर्थमन्त्रीले मुख्य नाइकेलाई नसमाते सदनभित्रै आमरण अनसन बस्ने घोषणा गरे ।
संसद अवरोधपछि सभामुख देवराज घिमिरेले साउन १५ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।
एमालेले सुन तस्करी प्रकरणमा संलग्त दुई विभागीयमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गर्दै आएको छ ।