काठमाडौं । जनमत पार्टीले विधान, नीति तथा निर्देशनविपरीत काम गरेको भन्दै पाँच नेतालाई कारबाही गरेको छ ।
जनमत पार्टी, केन्द्रीय अनुशासन समितिले नेताहरू शिवचन्द्र कुशवाहा, गुलाव मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादवलाई कारबाही गरेको हो । उनीहरूलाई पार्टीको अनुशासनविपरीत काम गरेकाले कारबाही गरिएको पार्टीका राष्ट्रिय उपाध्यक्ष ई। दीपककुमार साहले विज्ञप्तिमार्फत् जनाएका छन् ।
कारबाहीमा परेका कुशवाहा बारा–२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव विरुद्ध चुनाव लडेका थिए । उनलाई जनमत पार्टीले साधारणसदस्य समेत नरहनेगरी कारबाही गरेको जनाइएको छ । कुशवाहमाथि अनुशासनहिनता प्रदर्शन गर्दै पार्टी र नेतृत्व विरुद्ध लागेको आरोप जनमत पार्टीले लगाएको छ । उनलाई चुनावको मुखमा उपेन्द्रविरुद्ध लडाउन सीके राउतले पार्टीमा भित्र्याएका थिए ।
यस्तै सप्तरीका मण्डललाई १ वर्षका लागि निलम्बन गरिएको छ । मन्दिरको व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको आरोपमा पार्टीको सदस्यबाट १ वर्षका लागि उनलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सप्तरीकै शंकर खड्काले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै उनलाई पनि एक वर्षका लागि निलम्बन गरिएको छ ।
केन्द्रीय निर्देशनको उल्लंघन गरेको र गर्न लगाएको तथा गुटबन्धी गरेको भन्दै रुपन्देहीका भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाका लागि निलम्बन गरिएको छ ।