काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भैसकेपछि बरामद भएको सुनबारे अनुसन्धान भैरहेको राजश्व अनुसन्धान विभागले जनाएको छ । बरामद भएको सुन झण्डै एकसय किलोको भएको अनुमान गरिए पनि यकिन परिमाण आज मात्रै थाहा हुने विभागको भनाइ छ ।
सुन ओसारपसारमा संलग्न रहेको अभियोगमा ट्याक्सी चालकसहित ६ जना पक्राउ परेका छन् । विमानस्थल पास भएर आएको सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला हिजो बरामद गरिएको थियो।
विभागले रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सीचालकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दिलीपको बयानका आधारमा रामकुमार पक्राउ परेका हुन् ।
विमानस्थल भन्सार कार्यालयअगाडिबाट बा।२च २३२४ नम्बरको ट्याक्सीमा राखेर सुन लैजान लागिएको थियो । यो तस्करीमा ठूलै व्यापारीको संलग्नताको आशंका गरिएको छ ।
मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन बरामद भएको हो । एकैपटक यति धेरै सुन बरामद भएको सम्भवतः पहिलो घटना भएको विभागको भनाइ छ । अधिकारीका अनुसार सुनका एक सय ६० टुक्रा बरामद भएका छन्, जसको मूल्य करिब एक अर्बभन्दा बढी रहेको अनुमान गरिएको छ । नेपालमा सुन बरामद परिमाण यो नै अहिलेसम्मकै ठूलो हो ।
यसअघि २०७४ साल भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ किलो सुनसहित काठमाण्डौको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए ।