बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

काठमाडौं महानगरका सामुदायिक विद्यालयको प्रधानाध्यापकको तलब वृद्धि, शिक्षकहरुले मासिक तलब पाउने

आइतबार, असार १० २०८०

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका प्राधानाध्यापको तलब वृद्धि गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता डंगोलले महानगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकको मासिक तलब वृद्धिको घोषणा गरेकी हुन् ।

साथै महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले मासिक तलब पाउने भएका छन् । त्यसका लागि ३० करोडको सोध भर्ना कोष खडा गरिएको छ । सामुदायिक विद्यालयका शिक्षकको मासिक तलब भुक्तानी गर्न ३० करोडको सोध भर्ना कोष बनाइएको उपमेयर डंगोलले जानकारी दिइन् । हाल शिक्षकहरुले चौमासिक रुपमा तलब पाउँदै आएका छन् ।

काठमाडौं महानगरले शिक्षा क्षेत्रमा १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रुपैयाँ विनियोजन गरेको छ ।

बजेटमार्फत ‘गरिखाने शिक्षा महानगरको इच्छा’ नारामार्फत शिक्षालाई प्राथमिकता दिएको छ । कार्यक्रमका लागि ५० करोड रुपैयाँ खर्च छुट्याइएको छ ।

यसैगरी सामुदायिक विद्यालय परिसरको सरसफाइ र सौन्दर्यीकरण गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ ।

महानगरपालिकाले सबैभन्दा धेरै शिक्षा क्षेत्रमा ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ ।