काठमाडौं । केही दिनदेखि तापक्रम लगातार बढ्दै जाँदा तराई लगायतका मध्य पहाडी भुभाग सहित काठमाडौं उपत्यकामा समेत अत्याधिक गर्मी महसुस भएको छ । यसका साथै अधिकतम तापक्रमले कतिपय ठाउँमा रेकर्ड ब्रेक समेत गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लोपटक नवलपुरको दुम्कौली, धरान बजार, इलामको कन्याम चिया बगान र ओखलढुंगामा अधिकतम तापक्रम हालसम्मकै उच्च पुगकोे छ ।
दुम्कौलीमा पछिल्लो चार दिनदेखि अधिकतम तापक्रम ४३.८ डिग्री मापन भएको छ । त्यहाँ यसअघि उच्चतम तापक्रम ५ जुन १९७९ मा ४३.७ डिग्री मापन भएको थियो । धरानमा बुधबार र बिहीबार अधिकतम तापक्रम ३९.३ डिग्री पुगेर रेकर्ड ब्रेक भएको छ । त्यहाँ यसअघि २२ अप्रिल २०१३ मा ३८.८ डिग्री पुगेको थियो ।
सधैजसो सितल हुने इलामको कन्याम चिया बगान क्षेत्रमा पनि अधिकतम तापक्रम ३० डिग्री पुगेको छ । त्यहाँ यसअघि १० जुन १९७३ मा २९ डिग्री पुगेको थियो ।
यस्तो छ मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले देशका तराईका भूभागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिएका कारण तातो हावा चल्ने जनाएको छ ।
शुक्रवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै यसबारे जानकारी गराएका हो । महाशाखाले कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भूभागका १–२ स्थानमा भने मेघगर्जन, चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
अत्यधिक गर्मी तथा मेघगर्जन, चट्याङबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।
अमेरिकामा एल निनोको कारण प्रचण्ड गर्मी र प्रतिकुल मौसमको चेतावनी
अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय (एनओएए) वैज्ञानिकहरूले एल नीनो जलवायु परिवर्तन आउन लागेको र यसले चरम मौसम र उच्च तापक्रमको जोखिम बढाएको बताएका छन् ।
भूमध्यरेखा नजिकैको मध्य र पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रम पछिल्लो पटक सन् २०१८–१९ मा औसतभन्दा बढी तातो भएको, मौसमको सामान्य ढाँचामा परिवर्तन भएको थिया । यो अवस्था औसतमा प्रत्येक २–७ वर्षमा देखिने गर्छ ।
एनओएएका जलवायु वैज्ञानिक मिचेल लह्युरेक्सका अनुसार यसको शक्तिको आधारमा, एल निनोले विश्वका केही स्थानहरूमा भारी वर्षा र खडेरीको जोखिम बढाउने जस्ता विभिन्न प्रभावहरू निम्त्याउन सक्छ ।
उनले भने “जलवायु परिवर्तनले एल निनोसँग सम्बन्धित केही प्रभावहरू बढाउन वा कम गर्न सक्छ । पहिले नै औसत भन्दा बढी तापक्रम अनुभव गर्ने क्षेत्रहरूमा विशेष गरी एल निनोको समयमा एल निनोले तापमानको नयाँ रेकर्डहरू निम्त्याउन सक्छ ।”
यसै साता, अस्ट्रेलियाले अल निनोले भीषण डढेलोको जोखिममा रहेको क्षेत्रमा अत्यधिक न्यानो र सुख्खा मौसम निम्त्याउने चेतावनी दिएको थियो भने जापानले एल निनोले वसन्तका लागि आंशिक रूपमा तापक्रम बढाउने बताएको थियो ।
एनओएएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गर्मीयाममा संयुक्त राज्य अमेरिकामा यो घटनाको प्रभाव कमजोर हुन्छ तर शरद ऋतुको अन्त्यदेखि वसन्त ऋतुसम्म बढी प्रतिकुल प्रभाव छोड्ने देखिएको छ ।”