बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

आइतबार, जेष्ठ २१ २०८०

काठमाडौं – काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ थानकोटस्थित सडकमा ना.५ ख ५३२२ नम्बरको ट्रकले प्र.३–०२–००१ प ८८२५ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ गल्छी गाउँपालिका–४ बैरेनी घर भएका ३७ वर्षीय गोबिन्द प्रसाद अधिकारीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको न्यूरो अस्पताल बासबारीमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ तामनगरमा लु.१ ख ९०६३ नम्बरको बस र लु.३९ प ९१५७ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङ बस्ने १७ वर्षीय सुजन अर्याल र मोटरसाइकलमा सवार सोही गाउँपालिका–८ किशन टहरी बस्ने २६ वर्षीय प्रकाश पन्थी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको बसबरिया नगरपालिका–१ मानपुरमा बिआर ०६ एके २१७० नम्बरको मोटरसाइकलले प्र.२–०२–००१ प ११३४ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा प्र.२–०२–००१ प ११३४ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने २० वर्षीय रबिन्द्र कुमार यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ह्या४पी मेडिकेयर अस्पताल बरहथवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बिआर ०६ एके २१७० नम्बरको मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नवलपरासी (पश्चिम) को रामग्राम नगरपालिका–८ त्रिवेणीस्थित सडकमा लु.११ प १९९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । हाल उनको नाम, थर, वतन खुल्न सकेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलालीको टीकापुर नगरपालिका–७ स्थित सडकमा से.४ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भजनी नगरपालिका–८ सोनाफाँटा बस्ने ६० वर्षीय सोमैया चौधरीको मृत्यु भएको छ । शुक्रबार राति ठक्करबाट गम्भीर घाइते भएका उनको भेरी अस्पताल बाँके हुँदै टीकापुर अस्पताल कैलालीमा थप उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।