शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

‘अखण्ड भारत’को नक्साले नेपाल लगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्छ: बाबुराम भट्टराई

मंगलबार, जेष्ठ १६ २०८०

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’को नक्साले नेपाल लगायतका छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्ने बताएका छन् । डा भट्टराईले भारतका नेपाल लगायतका छिमेकीहरुसगको सम्बन्धमा नयाँ नक्साले थप अविश्वास ल्याउने उल्लेख गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले मंगलबार बिहान आफ्नो सामाजिक संजाल ट्विटरमा भनेका छन्, ‘अखण्ड भारतको विवादास्पद नक्साले नेपाल लगायतका छिमेकमा अनावश्यक र हानिकारण कूटनीतिक विवाद निम्ताउन सक्छ । यसले भारतका निकटतम छिमेकीहरुबीचको द्विपक्षीय सम्बन्धलाई बिगार्ने र अविश्वास बढाउने सम्भावना छ । त्यसैले भारतीय नेतृत्वले यस नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुन्छ ।’

उनले सो नक्साको अभिप्रायबारे भारतीय नेतृत्वले जानकारी दिनुपर्ने समेत बताएका छन् ।

भारतले हालै उदघाटन गरेको नयाँ संसद भवनमा ‘अखण्ड भारत’को नाममा नक्सा राखिएको छ । सो नक्सामा नेपाल र पाकिस्तानका भू-भागसमेत उल्लेख छ । नक्साभित्र नेपालका लुम्बिनी र कपिलवस्तु तथा भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिलालाई स्पष्ट देखाइएको छ ।