काठमाडौं ।अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संसदको संयुक्त बैठकमा नयाँ बजेट प्रस्तुत गर्दैछन् ।
अपरान्ह ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । सरकारको नीति तथा कार्यक्रम पारित भइसकेको छ भने आर्थिक सर्वेक्षण पनि सार्वजनिक भएको छ । अब आज आर्थिक वर्ष २०८०–८१ का लागि नयाँ बजेट आउनेछ । जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ ।
स्रोतहरुका अनुसार बजेटमा अर्थमन्त्री महतले साधारण खर्च कटौतीमा जोड दिनेछन् । पुँजीगत खर्च बढाउने, अनावश्यक खर्च कटौती, सार्वजनिक संस्थाहरुको सुधार, मर्जर तथा खारेजीका योजनाहरु समावेश गर्न लागिएको छ । यस्तै, शिथिल अर्थतन्त्रलाई गति दिन केही योजनाहरु पनि अघि सारिएका छन् ।
करिब १७ खर्बको हाराहारीमा रहेर बजेट तय गरिएको जानकारी दिइएको छ । केही पपुलर नारासहितका कार्यक्रमले यसपटक पनि निरन्तरता पाएका छन् । मन्दीमा जान लागेको अर्थतन्त्र सुधारका लागि केही लचिला नीतिहरु पनि सार्वजनिक गरिने छ ।
यता, सेयर बजार र घरजग्गा क्षेत्रका लगानीकर्ताले पनि बजेटबाट राहत अपेक्षा गरिरहेका छन् । सेयर बजारमा पुँजीगत लाभकरको दर घटाउनुपर्ने लगानीकर्ताले माग गरेका छन् । उनीहरुले यसमा लिखित सुझावसमेत दिइसकेका छन् । करको विषय भएकाले यो अहिलेसम्म गोप्य नै रहेको छ । तथापि, लगानीकर्ताहरुले भने आफ्ना अपेक्षा पूरा हुने विश्वास लिएको देखिन्छ ।