शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित

आइतबार, जेष्ठ १४ २०८०

काठमाडौं । सरकारले संघीय संसद्‌मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि पारित भएको छ ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकले सरकारको उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकले सत्तापक्ष र प्रतिपक्ष दलका २० जना सांसदले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । यसअघि जेठ ९ गते राष्ट्रियसभाबाट पनि नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठ ५ गते संघीय संसद्को दुवै सदनमा आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते संसद्मा प्रस्तुत गर्दै छ ।

यसअघि, प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको स्पष्टीकरण दिएका थिए । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरुद्ध गरेपछि प्रधानमन्त्रीले शनिबार संसद्‌मा स्पष्टीकरण दिएका हुन्। शनिबार संसद्को बैठक सुरु हुनासाथ समय लिएर बोल्नुभएका प्रधानमन्त्री प्रचण्डले जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको भएको र यसमा कुनै विवाद नभएको दाबी गरे। प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथ मन्दिरमा जलहरीमा राख्ने सुनमा भ्रष्टाचार भएको भनिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको र उक्त विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर संसद्मा प्रश्न उठ्नु सही नभएको जिकिर गर्दै भने, ‘पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सम्मानित सदनमा चर्चा उठेको छ ।

पशुपतिनाथ मन्दिरको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोे हो र सोही संस्थाले काम गरेको विषयमा विवाद छैन । जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानविन भइरहेको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवं निष्पक्ष छानविन गर्ने नै छ । यसमा सरकारको सहयोग रहनेछ । पशुपति विकास कोषमा लगाइएको जलहरीसम्बन्धी विषयमा प्रमुख प्रतिपक्षी दलका नेतालाई जोडेर विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसद्को रेकर्डबाट हटाउने व्यवस्था पनि रहेकै छ ।’ प्रधानमन्त्री प्रचण्डले पशुपतिको जलहरी सम्बन्धमा सांसदले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सकिने बताए ।

जेठ १० को प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री ओलीको कार्यकालमा पशुपतिनाथमा जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको र सुनको ठाउँमा पित्तल राखेको बताउनुभएको थियो । सांसद दाहालको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमालेका सांसदहरूले शुक्रबार संसद् बैठक अवरुद्ध गरेका थिए ।

शनिबार बिहान बसेको नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको बैठकले उक्त प्रकरणमा प्रधानमन्त्रीले संसदमा प्रष्टीकरण दिने, संसद्को रेकर्डबाट उक्त विषय हटाउने र संसद् बैठक अवरुद्ध नगर्ने सहमति भएको थियो ।

‘