काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको संस्कृति र सभ्यतामाथि विभिन्न ढंगले आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय परिचयपत्र लिँदा महिलाको सिन्दूर पुछ्ने र पुरुषको टोपी खोल्न लगाउने गरिएको भन्दै अध्यक्ष ओली आपत्ति समेत जनाए ।
एमालेको भ्रातृसंगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले कसैको पनि सांस्कृतिक पहिचान मेट्न खोज्नु अपराध हुने उल्लेख गर्दै भने, ‘राष्ट्रिय परिचयपत्र लिँदा सिन्दूर पुछ्नुपर्ने, पोते निकाल्नुपर्ने हुँदो रहेछ । विवाहित महिलाको सिन्दूर पुछ्ने अधिकार कसले दियो ? सिन्दूर पुछेर बनाइने त्यस्तो परिचयपत्र फाल्दिए हुन्छ । पुरुषले पनि टोपी खोल्नुपर्ने रे । टाई लाउनुपर्ने हो कि ? कसको निर्देशनमा बनाइन्छ कानून ? पोते किन खोल्नुपर्यो ? लगाएको सिन्दूर किन पखाल्नुपर्यो रु सिन्दूरसहित हुँदा के खराबी हुन्छ ? परिचयपत्र होस कि नागरिकता होस् । जे सुकै भए पनि त्यसमा परिपूर्ण कुराहरू हुनुपर्छ । नजानिँदो गरी हाम्रो संस्कृति र सभ्यतामाथि हमला भइरहेको छ । हाम्रो परम्पराका सुन्दर कुराहरूमा, पहिचान र परिचयमा हमला भइरहेको छ । सांस्कृतिक पहिचान मेट्न खोज्नु अपराध हो ।’
अध्यक्ष ओलीले अहिले बहस भइरहेको सांसदहरूको पोशाकसम्बन्धी विषयमा पनि टिप्पणी गर्दै भने, ‘मर्यादित ठाउँमा मर्यादित पोशाक लगाउनुपर्छ । स्वीमिङ पुलमा कस्टम लगाउनु असभ्य मानिँदैन । स्वीमिङ पुलमा लगाउँदा हुने,पार्लियामेन्टमा किन नहुने भन्नुभयो भने त्यो शोभनीय हुँदैन । बाथरुमको वस्त्र र मिटिङ रुमको वस्त्र एउटै हुन्छ रु स्वतन्त्रताका नाममा यस्ता कुरा गर्नुहुन्न । धेरै उत्ताउलिएर किन यसो किन उसो भनेर नभनौँ । फर्किएर गुफातिर नपुगौँ ।’