काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री प्रचण्डलाई कटाक्ष गर्दै खुलेयाम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र ? भनेर कडा प्रश्न गरेका छन् ।
एमाले महासचिव पोखरेलले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।
लडाकु शिविरमा भ्रष्टाचार भएको प्रमाणित भए आफैँ जेल जान तयार रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको घोषणाप्रति पोखरलले प्रचण्डलाई कटाक्ष गर्दै यस्ताे बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्,’लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्यमाथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरूलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र ?
पोखरलेलले ७/८ हजारको हाराहारीमा रहेको लडाकुहरूलाई ३२/३३ हजार पुर्याएको कुरा प्रचण्ड आफैँले हुंकारका साथ बोलेको अडियो सामाजिक सञ्जालमा सुरक्षित रहेको स्मरण समेत गराएका छन् ।
उनले वास्तविक लडाकु ७/८ हजारमध्ये केहीलाई शिविरमा राखेर अरु बाँकीलाई वाईसीएलका रूपमा राजनीतिक रूपमा परिचालित गरेको तथ्य अहिले माओवादीबाट बाहिरिएका धेरैले बोल्ने गरेका दाबी पनि गरेका छन् ।
शिविरमा रहेकाहरूले बुझ्ने गरेको भत्ताको चेक उनीहरूका कमाण्डरले राख्ने गरेको कुरा त्यहाँ बस्ने लडाकुहरू धेरैले धेरैपटक उठाउँदै आएको उल्लेख गर्दै पोखरेलले अगाडि भनेका छन्, ‘अनमिनले प्रमाणिकरण गरेकाहरू मध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकाश रोजेर राज्यबाट ठूलो रकम प्राप्त गरेकै हुन् । यी सबै तथ्यहरूबाट राज्यले कति अनुचित आर्थिक भार बोक्नु पर्यो र लडाकुको नाममा राज्यले उपलब्ध गराएको सहयोग कसरी उनीहरूका कमाण्डरहरूले लुटे र क–कसलाई बुझाए भन्ने कुरा खोजी गर्दा लुक्न सक्ने कुरा होइन ।’
‘तर पनि प्रचण्डजीहरू अझै पनि ठूलो स्वरमा हुंकार दिइनै रहेका छन्– लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैनु, पोखरल भन्छन्, ‘नेपाली जनताले शान्तिका नाममा ती सबै कुरालाई आजसम्म सहँदै आएका छन् । सत्य यही हो ।’
हिजो संसदमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रचण्डले लडाकु शिविरमा भ्रष्टाचार नभएको जिकिर गर्दै फेरि पनि कसैले उजुरी दिए छानबिन हुने र दोषी प्रमाणित भए आफैँ जेल जान तयार रहेको बताएका थिए ।