काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति अत्यन्त जटिल अवस्थामा पुग्दा पनि कांग्रेस किं कर्तव्य विमुख भएको आरोप लगाएका छन् ।
बुधवार काठमाडौंमा मदन—आश्रितको ३१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले अहिलेको सत्तागठबन्धन सत्तामा मात्रै सिमित रहेको उल्लेख गरे । उनले अहिलेको सत्ता गठबन्धनले राजनीतिलाई हलुका रुपमा लिइरहेको समेत बताए ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले नेपाली काँग्रेसलाई राजनीतिक संज्ञा दिनपनि मन नलाग्ने स्थितिमा पुगेको बताए ।
उनले काँग्रेस किं कर्तव्य विमुख भएको आरोप समेत लगाए । उनले अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्नमात्रै गरिएको गठबन्धन भएको बताए । अध्यक्ष ओलीले वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यबिहीन गठबन्धन भएको बताए ।
उनले भने, ‘अहिलेको राजनीतिलाई जसरी अत्यन्तै हल्काफुल्का ढंगले लिइएको छ, मानिसहरुको लिन खोजिरहेका छन्, खासगरी सत्ताधारीहरुले, सत्ताधारी गठबन्धनले त्यो दुःखद् कुरा हो । देशको परिस्थिति अत्यन्त गम्भीर छ । अत्यन्त जटिल छ । नेपाली काँग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिनपनि मन लाग्न छोडिसक्यो । देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली काँग्रेस किं कर्तव्य विमुख, भोलि कहाँ जाने केही थाहा छैन भन्ने जस्तै छ, आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन । यसको अर्थ हाम्रो पार्टी एक्लैले यो अभिभारा वस्तुतः पूरा गर्नुपर्ने परिस्थिति बनेको छ, यो सहज छैन । हामी कसैसँग कहिल्यै मिल्दैनौँ भन्ने होइन तर सत्ता गठनका लागि मिल्ने कुरा हुँदैन, देश, जनता, सुशासन, परिवर्तनका लागि हामी कोहीसँग मिल्न सक्छौँ । अहिलेको गठबन्धन सत्ता, सरकार प्राप्त गर्न गरिएको गठबन्धन हो, सत्ताधारी हो । नीति, कार्यक्रम, उद्देश्यबिहीन गठबन्धन हो, कार्यक्रम बिहीन गठबन्धन हो ।’
अध्यक्ष ओलीले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको बताए ।
ओलीले मदन भण्डारीको हत्याका लागि कांग्रेसी नेतालाई जिम्मा दिने कुरा भएको खुलासा गरेका छन् ।
ओलीले बिराटनगरका ‘अपराधी’ उमेश गिरीलाई हत्या गर्ने जिम्मेवारी दिन खोजिएको खुलासा गरे ।
‘मैले भनिराख्नु पर्दैन, कहाँ कसरी उहाँ (मदन–आश्रित) हरूको हत्या भएको थियो । त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तवार्ता दिनुभएको छ, केही अगाडि । उहाँले मदन भण्डारीको हत्या गर्ने कामको जिम्मा मलाई दिन खोजिएको थियो, मैले मानिनँ भनेर खुलस्त पार्नुभएको थियो,’ ओलीले भने, ‘नाम तोकेर भन्नुभएको छ, फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर, यस सन्दर्भमा समयमा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन् ।’
बिराटनगरका ‘डन’ गिरी हालै जेलमुक्त भएका छन् । उनीसँग मदन भण्डारीको हत्याको योजनाका बारेमा आएको प्रस्तावको खोजी गरेमा अपराधी नजिकसम्म पुग्न सकिने ओलीले जनाएका छन् ।