काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरू भएको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आजदेखि सुरु भएको बैठक तीन दिनसम्म चल्ने बताइएको छ । गत मंशिर ४ गते सम्पन्न निर्वाचन पछि पहिलो पटक केन्द्रिय समिति बैठक बस्न लागेको हो ।
यसअघि झापामा गर्ने तय भएको केन्द्रीय कमिटीको बैठक संसदीय काममा केन्द्रित हुनुपर्ने भएकाले २८–३० बैशाख, २०८० मा केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्ने निर्णय भएको हो ।
गत २६ बैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समिक्षा, ग्रास रुट अभियानको समिक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तिमा १० वटा बिषयमा छलफल गर्नका लागि अजेन्डा तय गरेको थियो ।
बैठक अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुका साथै, निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका एजेन्डा तय भएका छन्।
बैठकले बार्षिक कार्ययोजना तयार गर्ने र असोजमा हुने बैठकले कामको अर्धबार्षिक समीक्षा गर्नेछ । आजबाट सुरुहुने पाँचौं बैठकले अघिल्लो बैठकपछि भएका कामको जानकारी दिनेछ। मिसन ग्रासरुटको समीक्षा प्रतिवेदनको आधारमा केन्द्रदेखि पालिकासम्मको बार्षिक कार्ययोजना तय हुने एमाले नेता विष्णु रिमालले बताए।
यस्तै, बैठकमा पार्टीका नेता टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको विषयमा पनि छलफल हुने बताइन्छ।