शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

स्रोतको सीमितताले सबैतिर बजेट कनिका छरे जस्तो गरी नछर्ने : अर्थमन्त्री महत

बिहिबार, बैशाख २८ २०८०

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले स्रोतको सिमितता भएकाले सबै ठाउँमा बजेट नछर्ने बताएका छन् ।

बुधवार प्रतिनिधिसभाको बैठकमा प्रिबजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले सबै ठाउँमा दिएका छौं भनेर कनिका छरे जस्तो गरी बजेट नछर्ने बताएका हुन् । उनले आफूलाई बजेट छर्ने दबाब रहेको भएपनि आफूले त्यस्तो नगर्ने संकेत गरे ।

उनले एउटा आर्थिक वर्षमा एउटा काम देखिने गरी गर्नुपर्ने बताए । उनले सरकारसँग स्रोतको सुनिश्चिता रहेकाले स्रोत सुनिश्चिता अनुसार काम गर्नुपर्ने अवस्था रहेको बताए ।

अर्थमन्त्री महतले बजेटमा क्षेत्रगत मात्रै प्राथमिकताका नभएर अब क्षेत्रगत भित्र पनि प्राथमिकता तोक्न आवश्यक रहेको बताए । उनले जनताका आवश्यकताहरु थुप्रै रहेको बताए । उनले अहिले सरकारलाई बजेटको चुनौति भनेकै महत्वकांक्षा र आवश्यकताहरु धेरै भएको भन्दै साधन र स्रोतको सिमिततामा बस्नुपर्ने अवस्था रहेको बताए ।

अर्थमन्त्रीले थोरै साधन र स्रोतले धेरै आवश्यकता र महत्वकांक्षालाई कसरी पूर्ति गर्ने भन्ने चुनौति सरकारलाई रहेको बताए । उनले सांसदहरुबाट समेत योजनाहरु माग भइ आउने र बजेट छर्ने दबाब रहेको उल्लेख गरे । उनले जनताको आवश्यता, बाटो, खानेपानी, शिक्षा स्वास्थ्यको माग गर्नु स्वाभाविक भएपनि स्रोतको सिमितता भएकाले सबैतिर बजेट नछर्ने सरकारको योजना रहेको बताए ।

उनले सरकार आगामी बजेटमा जनतामा राज्य प्रतिको भरोसा र भविष्य प्रति आशा जगाउनेतर्फ उन्मुख हुनेगरी बजेट ल्याउने प्रतिवद्धता जनाए । उनले वर्तमान समस्या र चुनौति समाधान गरी राज्यप्रति जनताको भरोसा टुटन नदिन सरकारले गम्भिरताका साथ अग्रसर रहेको बताए ।

अर्थमन्त्री डा.महतले सांसदहरुले संसदमा भनेको जस्तो मुलुकको अर्थतन्त्र धराशायी नभएको बताए । उनले मुलुकको अर्थतन्त्र तिब्ररुपमा उकालो लाग्नुपर्ने भएपनि तिब्र रुपमा उकालो लाग्न नसकेको बताए । उनले मुलुकको आर्थिक वृद्धिदर सकारात्मक रहेको दाबी गरे । उनले सरकारको लक्ष्य अनुसार आर्थिक वृद्धि हुन नसकेको आफूले स्वीकार गरेको बताए ।

अर्थमन्त्री महतले सामान्यतया विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता प्रश्तुत गर्दा अर्थतन्त्रमा यी कमजोरीहरु छन् भनेर विगतमा बजेट प्रश्तुत गर्ने प्रचलन नभएको तर आफूले शुरुवात गरेको बताए । उनले समस्या र चुनौति स्वीकार गरेर अघि बढ्यो भने मात्रै अर्थतन्त्र ठिक ठाउँमा पुग्ने समेत बताए । उनले ३२ प्रतिशतले राजश्व संकलन बढाउने लक्ष्य लिए पनि त्यो पूरा नभएको बताए ।
उनले सरकारलाई ऋणको दायित्व बढ्दै गएको बताउनु भयो ।