बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

राष्ट्र बैंकले सार्वजनिक गर्यो, नौं महिनाको देशको वित्तीय स्थिती सम्वन्धी प्रतिवेदन :

कुल निर्यातमा २६ प्रतिशतले गिरावट, नौं महिनामा एक खर्ब १८ अर्ब रुपैंयाँको वस्तु बिदेश निर्यात

बुधबार, बैशाख २७ २०८०

काठमाडौं – नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको नौं महिना अर्थात यही चैत्र मसान्तसम्मको प्रतिवेदन सार्वजनिक गरेको छ । चालु आवको मोद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाको पुर्वसन्ध्यामा सार्वजनिक भएको उक्त प्रतिवेदन अनुसार यही चैत मसान्तसम्ममा कुल वस्तु निर्यात २६ दशमलव तीन प्रतिशतले घटेर एक खर्ब १८ अर्ब २८ करोड रुपैंयाँँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो निर्यात ६९ दशमलव चार प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३५ दशमलव एक प्रतिशतले घटेपनि चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः दुई दशमलव दुई प्रतिशत र आठ दशमलव एक प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलंैचा, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढ्दा सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार यही चैत मसान्तसमममा कुल वस्तु आयात पनि १८ दशमलव एक प्रतिशतले घटेर १२ खर्ब एक अर्ब ५१ करोड रुपैंयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३२ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६ दशमलव चार प्रतिशत, २३ प्रतिशत र १९ दशमलव चार प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, पेट्रोलियम पदार्थ, सुन, कागज लगायतका वस्तुको आयात बढेको बढेकोमा सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ । निर्याततर्पm भने भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी छ ।

राष्ट्र बैंकका अनुसार चालु आवको नौं महिनामा कुल वस्तु व्यापार घाटा १७ दशमलव एक प्रतिशतले कमी आई १० खर्ब ८३ अर्ब २३ करोड रुपैंयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २८ दशमलव पाँच प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौं दशमलव आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव नौं प्रतिशत रहेको थियो। समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब एक अर्ब ६७ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ६७ अर्ब ५३ करोड बराबरको भएको प्रतिवेदनमा उल्लेख छ ।