शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

अर्थमन्त्रीले ‘कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्थामा त पुगेका छैनौँ’ भन्नु सामान्य कुरा होइन : अध्यक्ष ओली

आइतबार, बैशाख १७ २०८०

पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय भएको बताउँदै अर्थतन्त्र सुधारमा आफूहरू गम्भीर रहेको बताएका छन् । अध्यक्ष ओलीले देशलाई सकारात्मक बाटोमा फर्काउन आफ्नो दल लागिपरेको समेत स्पष्टपारेका छन् ।

“देशलाई कसरी अनुकूल अवस्थामा फर्काउने, त्यसमा जनताको साथ कसरी लिने भनेर हामी लागेका छौँ”, अध्यक्ष ओलीले भने ।

एमाले पाँचथरले शनिबार फिदिममा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अर्थमन्त्रीले ‘कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्थामा त पुगेका छैनौँ’ भन्नु सामान्य कुरा नरहेको बताए । “अर्थमन्त्रीले नै यसो भनेपछि अरु विकास निर्माणका कुरा त छाडिदिनुपर्ने स्थिति आएको बुझ्न सकिन्छ”, ओलीले भने, “ओरालो लागेको अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्ने हाम्रो मुख्य चिन्ता रहेको छ ।”

कानुन कार्यान्वयन प्रभावकारी नहुँदा देशको राजनीति अस्थिरता, अराजकता र कानुनविहीनतातर्फ गएको टिप्पणी गर्दै अध्यक्ष ओलीले सामाजिक मूल्य मान्यता कमजोर भएको बताए । भत्कन लागेका मूल्य, मान्यतालाई पुनःस्थापित गर्न एमाले कार्यकर्ताले अनुशासित, सङ्गठित र व्यवस्थितरूपमा पार्टी पङ्क्तिलाई सक्रिय गराउनुपर्नेमा उनले जोड दिए ।

“अब लोगो झुन्ड्याएर, सङ्गठनमा बसेरमात्रै हुँदैन । एमालेका नेता, कार्यकर्ता जनतामा जानुपर्छ । पार्टीले सबै सङ्गठनलाई चुस्तदुरुस्त र सक्रिय ढङ्गले चलाउनु पर्छ”, उनले भने, “यो सबै काम पार्टी सङ्गठन बनाउन, चुनाव जित्नका लागि होइन । यो देशलाई ठीक ढङ्गले चलाउनका लागि आवश्यक परेको हो ।”

अध्यक्ष ओलीले श्रमलाई घृणा नगर्न र सबै प्रकारका श्रममा जोडिन कार्यकर्तालाई आग्रह गरे । उत्पादनलाई विशेष जोड दिई उत्पादन हुनसक्ने खाद्यवस्तुमा आत्मनिर्भर बनेर उदाहरणीय बन्न उहाँ पार्टी सदस्यलाई सुझाव दिए । गरिबी, पूर्वाधारको अभावजस्ता समस्याको अन्त्य गर्दै देशलाई परिवर्तन गर्न आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सारेको उनले स्मरण गरे ।

प्रदेश नं १ को नाम कोशी राखिएकामा विरोध जनाउँदै आएका पहिचान पक्षधरले हिजो आयोजित कार्यक्रममा विरोध जनाएको प्रसङ्ग कोट्याउँदै अध्यक्ष ओलीले एमालेसहितका दलले स्थापित गरेको लोकतान्त्रिक व्यवस्थामा जनमतमार्फत नाम परिवर्तन गर्न सकिने स्पष्ट पारे। “विद्यालयको उद्घाटन गरेको, विद्यालय चलेको कतिपयलाई मन परेन । बालबालिकाले गाउँमा प्राविधिक शिक्षा पढ्न पाएको राम्रो ठानेनन्”, ओलीले भने, “मैले विद्यालय उद्घाटन गरेँ, मलाई नै देश छोड भन्दै नारा लगाए । यसरी पहिचानको राजनीति सफल हुँदैन ।