शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरी पदमुक्त, पाएनन् विश्वासको मत

सोमबार, बैशाख ११ २०८०

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमबार प्रदेशसभाको बैठकमा उनले मागेको विश्वासको मत बहुमत सदस्यबाट अस्वीकृत भएको हो ।

उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाए ।

प्रदेशसभामा रहेका ८७ सांसदहरूमध्ये ३३ जना मात्र उनको पक्ष र ५३ जना विपक्षमा रहेकोले सभामुख तुलाराम घर्तीले अस्वीकृत भएको घोषणा गरेका छन् ।

सभामुख घर्तीले यो सँगै सदनको बैठक अर्को सूचनामार्फत बोलाउने भन्दै स्थगित भएको जानकारी गराएका छन् । चैत १२ गते लुम्बिनीमा रहेका ८ दलका ५३ सांसदहरूले कांग्रेस दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउने दाबीसहित प्रदेश प्रमुखलाई पत्र बुझाइसकेका छन् ।

गिरीले विश्वासको मत गुमाएसँगै धारा २ अनुसार नयाँ सरकार बन्ने प्रक्रियामा जाने बताएपनि एमाले संसदीय दलको आइतबार बसेको बैठकले विश्वासको मत नपाए धारा ३ अनुसार ठूलो दलको हैसियतमा दाबी गर्ने निर्णय गरेको छ । प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हो ।

प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एमालेसँग १८ जना प्रत्यक्ष र ११ जना गरी २९ जना सांसद छन् भने नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना सांसद छन् ।

त्यसैगरी तेस्रो ठूलो दलको रुपमा रहेको नेकपा माओवादी केन्द्रसँग ६ जना प्रत्यक्ष र तीन जना समानुपातिक गरी नौजना सांसद छन् । यसका साथै राष्टिय प्रजातन्त्र पार्टीका चार जना, नागरिक उन्मुक्ति पार्टीका चार जना, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका तीन–तीन जना, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका एक–एक जना सांसद रहेका छन् । ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार गठन गर्न ४४ जना सांसदको समर्थन आवश्यक पर्छ ।