काठमाडौं । प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षकहरू बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्रचार्यलाई नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक पदमा २०७९ चैत ६ गते सोमवार बढुवा गरेको छ ।
बढुवा भएका नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षकहरूले २०७९ चैत ८ गते बुधबार दर्ज्यानी चिन्ह पाउँदैछन् ।
नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहलगायत एआईजी सहकुल बहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी चैत ११ गते ३० वर्षे सेवाहदका कारण अवकास पाउँदैछन् । तर, बढुवा भएकै दिन एआइजी श्यामलाल ज्ञवालीको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान अयोगले गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
कोशी प्रदेशको प्रमुखमा कार्यरत ज्ञवाली उमेर ढाँटेर जागिर खाएको प्रमाणसहित उजुरीपछि अख्तियारले कारबाही प्रक्रियाका लागि चासो देखाएको हो ।
स्रोतका अनुसार अख्तियारले प्रहरीका उच्च अधिकारीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण मागेर अध्ययन गर्न केही शंकास्पद डीआईजीको शैक्षिक प्रमाण पत्र र नागरिकता विवरण मागेकोमा ज्ञवालीमाथि थप छानबिन आवश्यक परेपछि विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउन सोमबार साँझ गृहलाई निर्देशन दिएको हो ।
नागरिकतामा ज्ञवालीको जन्ममिति २०२४ चैत २१ रहेकोमा सिटरोल र शैक्षिक योग्यतामा भने २०२५ भदौ २६ रहेको बताइएको छ । उनको जन्ममिति ५ महिना ५ दिन फरक रहेको स्रोतको भनाइ छ ।
प्रहरी नियमावलीअनुसार इन्सपेक्टरमा भर्ना हुन २० वर्ष पूरा भएर २५ वर्ष ननाघेको हुनुपर्छ । तर, ज्ञवाली २५ वर्ष १० दिनमा इन्सपेक्टरमा भर्ना भएको अख्तियारको छानबिनमा देखिएको स्रोतको भनाइ छ । उनी २०५० मंसिरको विज्ञापनअनुसार इन्सपेक्टरमा भर्ना भएको देखिएको र नागरिकताअनुसार १० दिन बढी भएको पाइएपछि गृहलाई छानबिन गर्न भनिएको स्रोतले बतायो ।
अहिले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्रचार्य नेपाल प्रहरीको नेतृत्व लिने दौडमा छन् ।