बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

सिरहामा देउवाको गर्जन्– ‘एमाले मधेस विरोधी पार्टी हो, संविधान संसोधन एमालेले रोकेको हो’

बिहिबार, मंसिर १४ २०७४

काठमाडौँ मंसिर, १४– कांग्रेस सभापति समेत रहेका  प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचन जितेर फेरि प्रधानमन्त्री बनेर तराईको समस्या समाधान गर्ने दाबी गरेका छन् । बिहिबार सिरहाको भगवानपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति समेत रहेक देउवाले आफू फेरि देशको प्रधानमन्त्री बनेर मधेस र मधेसी जनताको समस्या समाधान गर्ने प्रष्ट पारेका हुन् ।

उनले भने, ‘चुनाव काँग्रेसले जित्छ र पाँच वर्षका लागि म प्रधानमन्त्री हुन्छु । प्रधानमन्त्री भएपछि मधेसको समस्या हल गर्छु ।’

काँग्रेसले मधेसी जनतालाई अधिकार सम्पन्न बनाउन संविधान संशोधनको प्रस्ताव ल्याउन खोज्दा नेकपा एमालेले रोकेको जिकिर देउवाले खुलस्त पारे ।  उनले भने,  ‘एमाले मधेस विरोधी पार्टी हो । त्यसलाई रोक्न काँग्रेसलाई जिताउन आवश्यक छ,’ उनले भने ।

उनले एक तर्फ एक दलिय शासन चाहने कम्युनिष्ट र अर्कोतिर जनतालाई अधिकारसम्पन्न बनाउन चाहने काँग्रेस रहेको बताउँदै अब कसलाई रोज्ने भन्ने जनताको हातमा रहेको बताए ।

बाम गठबन्धन बनेको छ जनता आतंकित बनेको उल्लेख गर्दै एक कम्युनिष्टहरुको दलिय तानाशाही शासनमा लेख्न, बोल्न र सम्पत्ति राख्न पाउने अधिकार नहुने दाबी गरे ।