शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दै, मुख्यमन्त्री रावलले पाउलान् विश्वासको मत ?

बिहिबार, माघ २६ २०७९

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत लिन बोलाएको बैठक सरेको छ।

रावलले विश्वासको मत लिने अन्तिम दिनमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीसँग सहमति हुन नसकेपछि बेलुका ५ बजेसम्मका लागि बैठक सरेको हो। सरकार गठन गर्ने बेला अन्तिम समयमा साथ दिएको नाउपाले विश्वासको मत नदिने बताउँदै आएको छ ।

यसैबीच एमालेका सुदूरपश्चिम अध्यक्षसमेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिम सरकारले आजै विश्वासको मत पाउने दाबी गरेका छन् ।

प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार नागरिक उन्मुक्तिका माग सम्बोधन गर्न तत्पर रहेको भन्दै विश्वासको मत पाउने बताएका छन् ।

मुख्यमन्त्री हुँदा रावललाई माओवादी केन्द्रका १०, नेकपा एमालेका ९, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक जना सांसदको समर्थन थियो। यीमध्ये नागरिक उन्मुक्ति पार्टीले अहिले विश्वासको मत दिन नसकिने अडान राखिरहेको छ। 

मुख्यमन्त्री रावलले प्रदेशसभाबाट आज विश्वासको मत पाएनन् भने रावल उनी पदमुक्त हुनेछन् । त्यसपछि संविधानको धारा ६८ (३) अनुसार प्रदेशसभाको सबभन्दा ठूलो दलले सरकार गठनको बाटो खुल्ने छ । यो प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल छ ।
यहाँ नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका ३ र स्वतन्त्र १ जना सांसद छन्।

यता सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । उक्त बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री रावलको विश्वासको मतका विषयमा समेत छलफल गर्ने छ ।

बुधबार प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटमा बिहीबार उच्चस्तरीय संयन्त्रको बैठक बस्ने तय भएको थियो । 

संयन्त्रको बैठकमा राष्ट्रपतिको पद उम्मेदवारलगायतका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुनेछ ।